वृद्धावृद्धको सम्मानमा अन्नपूर्णमा ज्येष्ठ नागरिक प्रतिक्षालय निर्माण

भोजपुर । अन्नपूर्णमा प्रतिक्षालय तथा पुस्तकालय निर्माण अन्तिम चरणमा पुगेको छ । वृद्धावृद्धको सम्मानमा टेम्केमैयुङ गाउँपालिकाले यहाँ बहुउद्देश्यीय भवन निर्माण गरेको हो ।
टेम्केमैयुङ–३ अन्नपूर्णले आर्थिक वर्ष २०७८/७९ बाट भवन निर्माण थालेको थियो । बाह्र आना क्षेत्रफलमा निर्माण भइरहेको भवनमा हालसम्म २२ लाख खर्च भएको छ । भवनको ५० लाखको लागत अनुमान रहेकाले सरकारका विभिन्न निकायमा माग गर्दा पनि बजेट नदिएपछि वडाले नै निर्माण गरेको टेम्केमैयुङ–३ का वडाध्यक्ष पूर्णप्रसाद राईले बताए । भवन निर्माणको काम यही आर्थिक वर्षभित्र सम्पन्न हुने उनले बताए ।
‘हामीले ज्येष्ठ नागरिकको सम्मानस्वरुप प्रतिक्षालय भवन निर्माण गरिरहेका छौँ’, उनले भने, ‘हाल भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यो भवनको माथिल्लो तलामा पुस्तकालयसमेत सञ्चालनमा ल्याउनेछौँ ।’ भवनमा ज्येष्ठ नागरिकलाई लक्षित गरेर भजनकीर्तनका लागि वाद्यवादनका साधन, मन्दिर, बगैँचालगायत संरचना निर्माण गरिने वडाध्यक्ष राईले भने ।
ज्येष्ठ नागरिकको ज्ञान सीप तथा अनुभवलाई समेट्दै उनीहरूका कुरा सुन्ने थलोका रूपमा विकास गर्न ज्येष्ठ नागरिक भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । यहाँ आएर ज्येष्ठ नागरिकसँग भलाकुसारी गर्दा उनीहरूको सीप अनुभव नयाँ पुस्तासम्म पुर्याउन सहज हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले बताए ।
‘ज्येष्ठ नागरिक समाजका जिउँदो इतिहास हुन्’, प्रशासकीय अधिकृत पौडेलले भने, ‘उनीहरूका ज्ञान, सीप, अनुभवलाई हामीले अनुशरण गर्न आवश्यक छ । ज्येष्ठ नागरिकलाई भेला भएर भलाकुसारी गर्ने वातावरण निर्माणमा यो भवनले भूमिका खेल्नेछ ।’
वडाको पहलमा ज्येष्ठ नागरिकको सम्मानस्वरुप भवन निर्माण हुनु सकारात्मक रहेको स्थानीयवासी केदार अधिकारीले बताए । ज्येष्ठ नागरिकले यहाँ भेला भएर आफ्ना दुःखसुखका कुरा साटासाट गर्न सक्ने उनको भनाइ छ ।
यहाँ आएर भलाकुसारी गर्दै दिन कटाउने मेलो हुने उनी बताउँछन् । ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव सङ्कलन केन्द्रका रूपमा यो भवनलाई लिन सकिने उनी बताउँछन् । ज्येष्ठ नागरिकको सम्मानमा वडाको पहलमा भवन निर्माण भएपछि स्थानीय नागरिक खुसी भएका छन् ।








