अहिलेको समावेशितालाई कुनैपनि शासक वर्गले उखेलेर फाल्नसक्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको समावेशिता शासक वर्गले चाहेसम्म मात्रै रहने किसिमको रहको बताएका छन् । सोमबार जनकपुरमा सुरु भएको पार्टीको राष्ट्रिय महाधिवेशनको अवसरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अहिले केही हदसम्म मात्रै समावेशिता रहेको र समावेशिता कुनै पनि शासक वर्गले चाहेको खण्डमा उखेलेर फालिदिन सक्ने किसिमको रहेको उनको भनाई छ । ‘आज केही हदसम्म समावेशिता छ । तर यो पनि यति कमजोर छ की यसलाई शासक वर्गले चाहने हो भने उखेलेर फालिदिन सक्छ,’ उनले भने, ‘जो अधिकार प्राप्त भएका छन्, त्यसलाई बचाऔँ । त्यसलाई अझै मजबुत गरौँ । जो बाँकी छ, त्यसलाई पाउन संघर्षबाट अघि बढौँ । हाम्रो संघर्ष, विभेद, असमानता हुन नदिनका लागि हुनुपर्छ ।’
अध्यक्ष यादवले सीमान्तकृत समुदायलाई पछाडि पारिएकाले मुलुक गरिबीतर्फ धकेलिँदै गइरहेको बताए । दुई तिहाईभन्दा बढी जनसंख्या रहेको सीमान्तकृत समुदायलाई पछाडि पार्दा मुलुक कुनैपनि हालतमा विकसित मुलुक तथा समाजवादतर्फ अग्रसर हुन नसक्ने उनको भनाई छ ।
अध्यक्ष यादवले मधेस आन्दोलन नभएको भए मुलुकमा संघीयता, गणतन्त्र नेपालमा कहिल्यै नआउने बताउँदै प्राप्त अधिकारहरूलाई संरक्षण गर्नका लागि निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गरे । सोमबारबाट जनकपुरधाममा सुरु भएको जसपा, नेपालको एकताको राष्ट्रिय अधिवेशनको बन्दसत्र आजबाट सुरु भएको छ । बन्दसत्रमा जसपा नेपालका अध्यक्ष यादवले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।








