अस्पतालमा अनियमितता गर्नेहरू केही दिनभित्रै कारबाहीमा पर्छन् : स्वास्थ्यमन्त्री यादव

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले अस्पतालभित्र अनियमितता गर्नेहरूलाई केही दिनभित्रै निलम्बन गरिने बताएका छन् ।
सोमवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री यादवले अस्पतालहरूमा अनियमितता हुने गरेको भन्दै केही दिन भित्र अनियमितता गर्नेहरूलाई निलम्बन तथा कारबाही गरिने बताएका हुन् । उनले अनियमितता गर्नेहरूलाई रंगेहात पक्रेर आफैँले अख्तियारमा पठाउने बताए । उनले अस्पतालहरूमा भएको बेथिति रोक्न र दोषीलाई समात्न मन्त्रालयले चाँडै नै अस्पतालहरूमा टिम परिचालन गर्ने बताए ।
उनले राज्यले आमा सुरक्षा कार्यक्रममार्फत अपरेसन गरेर बच्चा जन्माउने आमामा लागि १० हजार रुपैयाँ दिएको भएपनि सम्बन्धितले सो रकम नपाएका बताए । उल्टै आमालाई नै रकम तिराएर अनियमितता भइरहेको भन्दै त्यहाँ पनि आफ्नो ध्यान पुगेको बताए । उनले राज्यले दिएको सेवा, सुविधा नागरिकलाई नदिएर अस्पताल व्यवस्थापनले नागरिकलाई सास्ती दिइरहेको भन्दै दोष चाहिँ मन्त्री र उच्चपदस्थ व्यक्तिहरूमा जाने गरेको बताए । उनले दोषीउपर सबैलाई कारबाही गरिने चेतावनी दिए ।
उनले भने ‘आमा सुरक्षामा सरकारले १० हजार रुपैयाँ एउटा आमाको सुरक्षाको लागि दिइरहेको छ । खास गरेर अप्रेसन गरेर बच्चा जन्मिएको आमाको लागि । तर अधिकतम आमालाई राज्यको पैसा पुगिरहेको छैन । त्यहाँ नागरिकसँग ठगी भइरहेको छ । उल्टो पैसा तिराउने काम भइरहेको छ । राज्यले १० हजार रुपैयाँ दिनुपर्ने उल्टो ऊ आमाले पैसा तिरेर गइरहेको छ । त्यो गरिबले कसरी राज्यप्रति विश्वास गर्छन् ? गाली गर्दैनन् नेताहरूलाई ? मन्त्रीहरूलाई ? त्यहाँको सांसदलाई ? त्यहाँको मेयरलाई ? त्यहाँको वडाध्यक्षलाई ? त्यहाँको स्थानीय पत्रकाले गाली खाँदैन ? आज नेतामाथि किन खनिएका छन् नागरिक ? बिगार्छ अरुले गाली खान्छ नेताले । मैले मिहिन तरिकाले काम गरिरहेको छु । तपाईँहरूको साथ, सहयोग भयो भने केही दिन भित्रमा धेरैजना सस्पेन्ड हुन्छ । धेरैजना कारबाहीमा पर्छन् । धेरै जनाको मुद्दा अख्तियारमा म आफैँ पठाउँछु । रंगेहात समातेर । त्यसको लागि मैले हरेक अस्पतालमा चाँडै टिमको गठन गर्न लागेको छु । त्यो टिमले बेथिति रोक्छ र समात्छ । राज्यले नागरिकको सस्तोमा उपचार होस् । निःशुल्क उपचार होस् भनेर पैसा दिने । त्यहाँको अस्पताल व्यवस्थापनले नागरिकलाई सास्ती गर्ने ? ठग्ने ? अनि दोष मन्त्रीलाई जाने ? दोष सचिवमाथि जाने ? दोषी डिजीमाथि जाने ? दोष त्यहाँको माननीयलाई जाने ? यो विषयमा म गहन तरिकाले काम गरिरहेको छु ।’
मन्त्री यादवले चिकित्सकहरूलाई सुगमस्थानबाट अन्य स्थानमा सरुवा नगर्न ठूलो स्तरबाट दबाब आउने गरेको बताए । उनले मन्त्रीको कुर्सी नै हल्लिने गरी चिकित्सक सरुवा नगर्न दबाब आउने गरेको बताए । उनले सरुवा भएको ठाउँमा चिकित्सक जानैपर्ने अडानमा मन्त्रालय रहेको भन्दै निर्णयबाट पछाडि नफर्किने स्पष्ट पारे ।
उनले भने – ‘कहीँ यस्तो छ की, एउटै विशेषज्ञ १९ जना छन् । कुनै अस्पतालमा छैन । त्यहाँ पठाउँ भने तल्लो स्तरबाट पावर आउँदैन ठुलो स्तरबाट प्रेसर आउँछ । किन पठाएको ? त्यहीँ रहोस् । त्यो मेरो मान्छे हो । धेरै आउँछ, नेपाल सरकारले फ्रीमा एमडी पढाएको छ, उहाँहरूलाई नीतिगत तरिकाले मन्त्रालयले दुई वर्ष सेवा गर्नका लागि विभिन्न अस्पतालमा निर्णय गरेर पठाएको हुन्छ । नजाने, म डाँडाकाँडा किन जाने ? सुगममा रहन्छु भन्ने पावर आउँछ । यस्तो पावर आउँछ कि कुर्सी हल्लिइहाल्छ । तर सचिवज्युहरुलाई निर्देशन दिएको छु, कुनै इफ, बट् हुँदैन । जो सरुवा भयो, भयो । त्यो ठाउँमा जानैपर्छ । कुनै पावरमा ब्याक हुँदैन । कसैको पावरमा ब्याक हुँदैन । कसैको वातावरणमा समस्या भयो, स्वास्थ्यमा समस्या भयो भने त्यसलाई बिचार गरौँला । उसलाई पछि हेरौँला । तर हाजिर जहाँ सरुवा भएको छ त्यहाँ हाजिर हुनैपर्छ । समस्या नबुझीकन स्वास्थ्य मन्त्रालयले त्यहाँबाट हटाउँदैन ।’
मन्त्री यादवले संघीय अस्पतालहरूमा धेरै कमजोरीहरू रहेको र व्यापक सुधारको आवश्यकता रहेको भन्दै आफू सुधारको काममा लागेको बताए ।








