सुशासनका घण्टी बजाउनेहरु नै त्यसको बिरुद्धमा छन् : आनन्दप्रसाद ढुंगाना

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका राष्ट्रिय सभाका सांसद आनन्दप्रसाद ढुंगानाले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश सरकारसँग अधिकार बाँडफाँडको विषयमा कुरा नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रदेशलाई अधिकार दिने विषयमा कति पटक प्रदेश सरकारसँग छलफल गरेको ? भनेर प्रधानमन्त्री दाहाललाई प्रश्न पनि गरे ।

सांसद ढुंगानाले निजमती कर्मचारी सेवा ऐन, प्रादेशिक प्रहरी ऐन बनाउनेमा काममा आलटाल गरेको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरे ।

‘म सरकारलाई आग्रह गर्न चाहन्छु–यो सदनले, सदनका माननीयजीहरुले हरेक प्रदेशमा गएर प्रदेशलाई चाहिने ऐन बनाई दिनुपर्छ, अनिमात्रै संघीयता बलियो हुन्छ भनेर प्रतिवेदन दिनुभएको छ’उनले भने, ‘संघीयतालाई बलियो बनाउने गरी सरकारले ऐन बनाओस् भन्ने कुरा म राख्न चाहन्छु । हामी जिम्मेवार भएनौं ।’

सांसद ढुंगानाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि लक्षित गर्दै सुशासनको घण्टी बजाउनेहरुले नै मुलुकमा सुशासनको विरुद्धमा काम गरिरहेको बताए ।

उनले मुलुकमा सुशासन कायम गर्न सरकार समेत सचेत नभएको आरोप लगाए । जसले सुशासनका लागि घण्टी बजाएर देशमा जितेर आए त्यही व्यक्तिले सुशासनको विरुद्धमा काम गरिरहेको सांसद ढुंगानाको भनाई थियो ।

‘जसले सुशासनका लागि घण्टी बजाएर यो देशमा जितेर आए, त्यही व्यक्तिले सुशासनको विरुद्धमा काम गरिराखेका छन् भनेर हामीले भन्न खोजेका थियौं’ उनले भने,‘यस दिशातर्फ सरकार किन सचेत भईराखेका छैन ? प्रधानमन्त्रीले प्रदेश सरकारका मुख्यमन्त्रीसँग अधिकार बाँडफाँडको विषयमा कति पटक छलफल गरेका छन् ? गरेका छैनन् । ’

उनले संघीयतालाई बलियो बनाउने ऐनहरु निर्माणको काममा ढिलाई नगर्न पनि सरकारलाई सचेत बनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =