व्यावसायिक कृषिमा आकर्षित हुँदै कोदारका किसान

भोजपुर । भोजपुर नगरपालिका–७ वडा कार्यालय कोदारले किसानका लागि ‘प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरेपछि यहाँका किसान व्यावसायिक कृषिमा आकर्षित हुँदै गएका छन् ।
परम्परागत खेती गरिरहेका किसानलाई वडा कार्यालयले अनुदानसँगै प्राविधिक सहयोगका तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेपछि व्यावसायिक खेतीमा जुटेका हुन् । वडाले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेसँगै व्यावसायिक खेती गर्न थालेको ललिता केसीले बताइन् ।
कार्यक्रमअन्तर्गत अनुदानमा बीउ वितरण, परामर्श, आवश्यक प्राविधिक सहयोग हुँदै आएको भन्दै पछिल्लो समय खेती विस्तारमा सहज भएको उनीको भनाइ छ ।
‘वडाको सहयोगले व्यावसायिक तरकारी खेतीमा लाग्न प्रोत्साहन मिलेको छ’, केसीले भनिन्, ‘तरकारीसँगै नगदेबाली उत्पादन गरेर मनग्ये आम्दानी भइरहेको छ । उत्पादित सामग्री भोजपुर बजारमा लगेर बिक्री वितरण गर्ने गरेका छौँ ।’ विगतमा परम्परागतरुपमा खेती गर्दा आम्दानी कम हुने गरेको जनाउँदै उनीले अनुदान, बीउ तथा प्राविधिक सहयोग पाएपछि थप सहजता भएको बताइन् ।
आधुनिक प्रविधिको प्रयोग गरी खेती गर्दा प्रशस्त उत्पादन हुने गरेको किसान केसीले अनुभव सुनाइन् । ‘खेती गर्छु भनेर मात्र नहुँदो रहेछ । कृषिसम्बन्धी सीप र ज्ञान भएमा तरकारी खेतीबाट मनग्ये आम्दानी लिन सकिन्छ’, उनीले भनिन्, ‘रोग, किरा, उन्नत जातको बीउलगायत विषयमा वडाबाट आवश्यक प्राविधिक सहयोग पाइरहेका छौँ ।’
तरकारी खेतीका लागि अनुदानमा प्लास्टिक टनेल वितरणसँगै उन्नत जातको बीउसमेत पाएपछि सहज भएको किसान रामकुमार नेपालीले बताइन् । वडा र नगरको सहयोगमा करिब तीन लाख बराबरको टनेल पाएकाले अहिले व्यावसायिक रूपमा टमाटर खेती गरिरहेको उनीले जानकारी दिइन् ।
वडाभित्रका किसानको पहिचान गरेर उनीहरूलाई व्यावसायिक बनाउने उद्देश्यले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ । कोदार क्षेत्र भौगोलिक रूपमा उर्वरभूमि रहेकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको वडाध्यक्ष जयबहादुर तामाङले बताए । व्यावसायिक खेतीका लागि माटो सुहाउँदो बाली लगाउन प्रोत्साहन गरिने उनले उल्लेख गरे ।
बजार क्षेत्रबाट नजिकको स्थान कोदार रहेकाले तरकारी तथा नगदेबालीमा नमूना बनाउने योजनाका साथ काम गरिरहेको वडाध्यक्ष तामाङले जानकारी दिए । ‘कोदार क्षेत्र तरकारी खेतीका लागि उर्वर भूमि मानिन्छ । यहाँ उत्पादन भएको तरकारी स्थानीय बजारमा खपत हुने अवस्था छ’, उनले भने, ‘किसानलाई व्यावसायिक उत्पादनसँग जोडेर आयस्तरमा वृद्धि गर्ने सोचका साथ कृषिमा लगानी गरिरहेका छौँ ।’
वडा कार्यालयले आवश्यक सहयोग गरेसँगै व्यावसायिक कृषिमा लाग्नेको सङ्ख्या बढ्दै गएको वडाध्यक्ष तामाङले बताए । ‘यहाँका अधिकांश किसानले तरकारी खेती गर्नुहुन्छ तर वडाको अनुदान लिएर ३५ जना किसानले व्यावसायिक खेती गरिरहनुभएको छ’, उनले भने ।
केही समयमा अघि आएको हुरीले किसानले लगाएको टनेलमा क्षति पुगेकाले अनुगमन गरेर आगामी आर्थिक वर्षमा सहयोग गरिने वडाध्यक्ष तामाङले जानकारी दिए । यहाँका एक सयभन्दा बढी किसानलाई टनेलका साथै विभिन्न तालिम, सिँचाइका लागि पाइप, उन्नत जातको बीउलगायत सामग्री वितरण गर्दै आइरहेको उनको भनाइ छ ।
‘हामीले यहाँको माटो अनुसारको बालीमा जोड दिएका छौँ । किसानको आवश्यकताका आधारमा सहयोग गरिरहेका छौँ’, वडाध्यक्ष तामाङले भने, ‘वडाले गरेको कामको प्रतिफल पनि आइरहेको छ । अहिले व्यावसायिक कृषिमा लाग्नेको सङ्ख्या बढ्दै गएको पाएका छौँ ।’ उत्पादित कृषि उपजको बजारीकरणमासमेत वडाले सहयोग गर्ने उनले बताए । सीमित बजेट हुँदा पनि स्थानीयको आवश्यकताअनुसार पूर्वाधार विकासका क्षेत्रमा योजनाबद्ध काम गरिरहेको उनले जानकारी दिए ।








