सरकार र निजी क्षेत्र दुवैले उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्नुपर्छ : ओली

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्नुपर्ने बताएका छन् ।
नेकपा (एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्न सरकार र निजी क्षेत्रले ध्यान दिनुपर्ने बताएका हुन् । उनले पुँजी र प्रविधिको विकास गर्ने बाटोमा पनि अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
अध्यक्ष ओलीले बजेट कार्यान्वयनको सम्बन्धमा पनि आफूले सरकारसँग कुरा गरिरहेको बताए । उत्पादन, उत्पादकत्व र उद्योगमा प्रविधिको प्रयोग लगायतका कामहरु नेपालले गर्न सकेमात्रै मुलुकको औद्योगिकीकरणको भविष्य निर्धारण गर्ने उनको भनाई थियो । अध्यक्ष ओलीले कृषिलाई आधुनिकीकरण, व्यावसायिकीकरण, औद्योगिकीकरण गर्न नसके अगाडि बढाउन नसकिने तथ्य पनि स्मरण गराए ।
उनले भने ‘हामीले उत्पादन र रोजगारीका क्षेत्रमा विशेष लगानी गर्नुपर्दछ । अर्को कुरा हामी आफैँले पुँजी र प्रविधिको विकास गर्ने बाटो लिनुपर्छ । हाम्रो पुँजी र प्रविधिले पुगेन भने पुँजी र प्रविधि बाहिरबाट ल्याउने, आकर्षित गर्ने, इन्भेष्ट गर्ने गर्नुपर्दछ । त्यो बाटो लिनुपर्छ । र मुख्य रुपमा आफूले विकास गर्ने, पुँजीको सृजना गर्ने उत्पादनबाट । त्यस कामतिर लाग्नु पर्दछ । यस सन्दर्भमा सरकारसँग मेरो कुराकानी भइराखेको छ । वर्तमान बजेटको सम्बन्धमा, त्यसको कार्यान्वयनको प्रभावकारिताको सम्बन्धमा, त्यसलाई कसरी प्रभावकारी ढंगले लैजानका लागि के सच्याउनु पर्छ ? ती कुराहरूको सन्दर्भमा म कुरा गरिरहेको छु । र अब हामीले कृषि आधारित उद्योग र अन्य उद्योगहरू । कृषिको आधुनिकीकरण, त्यस्तै अन्यत्रको आधुनिकीकरण । उत्पादनमा प्रविधिको प्रयोग, उत्पादकत्व वृद्धिमा प्रविधिको प्रयोग, उद्योगमा प्रविधिको प्रयोगलगायतका कामहरु हामी कति गर्नसक्छौँ । त्यसले हाम्रो औद्योगिकीकरणको भविष्य निर्धारण गर्छ । कृषिको आधुनिकीकरण, औद्योगिकीकरण गर्न सकिएन भने ६० प्रतिशत जनता अहिले पनि त्यसमा निर्भर हुने, त्यसमा आधारित कृषिलाई आधुनिकीकरण गर्न नसकिने, व्यावसायिकीकरण गर्न नसकिने, औद्योगिकीकरण गर्न नसकिने हो भने त्यो हिजोको स्थितिमा रहेर त्यो अगाडि जान सक्दैन ।’
अध्यक्ष ओलीले ६० प्रतिशत भन्दा बढी जनता कृषिमा निर्भर रहेको मुलुकमा त्यस क्षेत्रको विकास गरेर अघि बढ्नुको विकल्प नरहेको पनि बताए ।








