जेठ २८ गते विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री पाण्डे

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी जेठ २८ गते विश्वासको मत लिने भएका छन् ।
सर्वोच्च अदालतको परमादेशबाट गत जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले जेठ २८ गते सोमबार विश्वासको मत लिने तयारी गरेका हुन् ।
उनले प्रदेश सभाबाट विश्वासको मत लिइसकेपछि मात्रै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेका हुन् ।
अदालतको आदेशबाट मुख्यमन्त्री नियुक्त भए पनि विश्वासको मत पाउन सक्ने आधार नभएपछि उनी बिहीबार काठमाडौं आएका थिए । शीर्ष नेताहरुसँग छलफल गरेर फर्किएपछि विश्वासको मत लिने तयारी गरेका हुन् ।
६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ, तर कांग्रेससँग २७ जना मात्र सांसद छन् । विश्वासको मतका लागि पाण्डेलाई अन्य दलबाट ४ जना सांसदको समर्थन आवश्यक पर्छ ।
गण्डकीमा राप्रपाका दुई सांसद छन् । यस्तै, स्वतन्त्र दिपक मनाङे र डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटालाई समेत तानेर ३१ मत पुर्याउने पाण्डेको रणनीति रहेको छ ।
त्यसो त कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई गण्डकीमा विश्वासको मत दिन आग्रह गरेका छन् । त्यस विषयमा भने राप्रपाले प्रतिक्रिया जनाएको छैन ।








