एफसी चितवनद्वारा फुटबल खेलका विभिन्न आयामहरूबारे अन्तर्क्रिया

भरतपुर । फुटबल क्लब एफसी चितवन ले नेपालमा फुटबल खेलका विभिन्न आयामहरूबारे सरोकारवालाहरूबीच अन्तर्क्रिया गराएको छ ।

एफसी चितवनले भरतपुर मेयर कप फुटबल प्रतियोगिताको अवसरमा नेपाली फुटबलमा युवा प्रतिभाहरूलाई हुर्काउने र दिगो भविष्यको निर्माणको पहलहरूका बारेमा भरतपुरमा छलफल आयोजना गरेको हो ।

अन्तर्क्रियामा ५ सय भन्दा बढी खेलाडीहरू, विद्यार्थीहरू र नेपाली फुटबलका सरोकारवालाहरू सहभागी थिए ।

छलफलमा फुटबल खेल तथा खेलाडीको विकासमा स्थानीय निकाय, सङ्घसंस्थाहरू, निजी संस्थाहरू र खेलाडीहरूको भूमिकाबारे विभिन्न दृष्टिकोणहरू प्रस्तुत भएका थिए । साथै विभिन्न सरोकारवालाहरू बिच समन्वय, लगानीमैत्री वातावरण सिर्जना, लिग प्रणालीलाई पुनर्संरचना र नीति निर्माणमा खेलाडीहरूको आवाजलाई समावेश गर्ने जस्ता महत्त्वपूर्ण विषयहरू पनि छलफलमा उठेका क्लबले जनाएको छ ।

अन्तरक्रिया सँगसँगै खेलकुद विज्ञान, पोषण, शारीरिक तन्दुरुस्ती, खेलकुद मनोविज्ञान र चोटपटक रोकथाम जस्ता आवश्यक विषयहरूमा समेत विज्ञद्वारा प्रस्तुति गरिएको थियो ।

आधुनिक उपकरणहरू तथा प्रस्तुतिबाट विद्यार्थी खेलाडीहरू उत्साहित भएका थिए । यसलाई अबका प्रशिक्षण र विकासमा जोड्नु पर्न खेलाडीहरूको भनाइ थियो ।

अन्तर्क्रियामा अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज विक्रम नेम्बाङ, एफसी चितवनका अध्यक्ष सचिन ढकाल र खेलाडी सङ्घका अध्यक्ष विक्रम लामाको सहभागिता रहेको थियो ।

यो अन्तर्क्रियासँगै एफसी चितवनले आफ्ना साझेदारहरूसँग मिलेर स्थानीय तहबाटै फुटबलको रूपान्तरणको यात्रालाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *