ओलीलाई रविको जवाफ- ‘अन्तर्देशीय विवाह पितृ सत्तालाई मन परेको छैन’

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ लक्षित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शिक्षामन्त्री श्रेष्ठको अन्तर्देशीय विवाह लक्षित ओलीको टिप्पणीप्रति पार्टीले गम्भीर रुपमा आपत्ति जनाएको बताएका हुन् ।

उपप्रधानमन्त्री लामिछानेले प्रेम गर्ने, विवाह गर्ने भन्नेकुरा व्यक्तिको नितान्त व्यक्तिगत निर्णय भएको उल्लेख गर्दै त्यसलाई अरुले सम्मानबाहेक अरु केही गर्न नसक्ने जिकिर पनि गरे । कोसँग माया गर्ने, कोसँग विवाह गर्ने ? भन्नेकुरा व्यक्तिगत निर्णय भएकाले त्यसमा सम्मानबाहेक अरुले केही पनि गर्न नसक्ने उनको तर्क थियो ।

उपप्रधानमन्त्री लामिछानेले अन्तरजातीय विवाहका लागि कुनै बेला लडार्इं गर्नुपरेको बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले नेपाली समाजले अहिले अन्तर्देशीय विवाहको सामना गरिरहनुपरेको बताए । अन्तर्देशीय विवाह पितृ सत्तालाई मन नपरेको भन्दै कयौँ टिप्पणीहरू आइरहेको बताए । अध्यक्ष ओलीले केही दिनअघि विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना लक्षित टिप्पणी गरेका थिए ।

उपप्रधानमन्त्री लामिछानेले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको विवाहको विषयलाई लिएर नकारात्मक टिप्पणी हुने गरेकोमा पनि आक्रोश व्यक्त गर्दै जीवन जिउन उनीहरूको इच्छा भएकाले त्यस अधिकारलाई सरकारले दिलाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

उनले भने ‘पितृ सत्ताले गाँजेको यो समाजमा हिजो अन्तरजातीय विवाहका लागि लड्नुपर्ने थियो । आज देश विदेश फैलिएर अन्तर्देशीय विवाह पनि हुने गरेको छ । तर पितृ सत्तालाई यो मन परेको छैन । त्यसैले कयौं टिप्पणीहरू आउने गरेका छन् । शिक्षामन्त्रीलाई लक्षित गरेर आएको टिप्पणीप्रति पनि हामीले गम्भीर आपत्ति जनाएका छौ । तपाईँले कसलाई माया गर्ने, कोसित विवाह गर्ने, तपाईँको व्यक्तिगत जीवन कस्तो हुने ? भन्नेकुरा तपाईँको निर्णय हो, मात्र तपाईँको । अरु कसैको निर्णय होइन । तपाईँलाई कोसँग माया गर्नुछ, तपाईँले कोसँग विवाह गर्नुहुन्छ, त्यो तपाईँको व्यक्तिगत निर्णय हो । त्यो निर्णयको सम्मान गर्ने बाहेक अरुले त्यसमा केही पनि गर्न सक्दैन । अहिले एलजीविटीआईक्यु कम्युनिटीको कुरा आइरहेको छ । उहाँहरूलाई समाजले हेर्ने दृष्टिकोण उद्धार भइसकेको छैन । कुन दुःख, कुन पीडामा उहाँहरुले आफ्नो जीवन गुजारीरहनु भएको छ ? उहाँहरूलाई मैले भन्दै आएको छु–तपाईँहरूको जिन्दगी, तपाईँहरूको च्वाईस । तपाईँहरूको च्वाईस, कसैको च्वाईस होइन । तपाईँहरूले कसलाई माया गर्ने भन्नेकुरा यो समाजले ठेकदार भएर भन्ने होइन, तपाईँले भन्ने हो । त्यसको अधिकार सुनिश्चित गर्ने काम राज्यको हो । हामी तपाईँको अधिकारको सुनिश्चितताका लागि लडिरहने छौँ । हाम्रो जिम्मेवारी हो । मैले यही नै भनेको छु ।

उपप्रधानमन्त्री लामिछानेले लैगिक तथा यौनिक अल्पसंख्यक समुदायको विवाह सम्बन्धी अधिकार सुनिश्चित गराउनका लागि आफू लागिपर्ने पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =