सरकारले चुरे संरक्षणमा बेवास्ता गरेको भन्दै माइतीघरमा निरन्तर प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । चुरे तथा वनजंगल संरक्षणका लागि सप्तरीबाट २५ दिन पैदल यात्रा गरेर काठमाडौं आएका नागरिकहरूले सरकारले चुरे संरक्षणमा राज्यले बेवास्ता गरेको आरोप लगाएका छन् ।

१४ दिन यता काठमाडौं लक्षित आन्दोलन गरिरहेका उनीहरुले अहिलेसम्म सरकारले कुनै चासो नदिएको गुनासो गरे । माइतीघरमा बुधवार आन्दोलनका क्रममा उनीहरुले विश्व वातावरण दिवसको दिन सरकार र राजनीतिक दलका नेताहरूले विभिन्न प्रतिबद्धता जनाए पनि झुटो मात्रै भएको बताए ।

वातावरणको संरक्षण गर्नुपर्छ भन्ने तर चुरे संरक्षणका लागि १४ दिन यता काठमाडौंमा प्रदर्शन गरेको प्रदर्शनकारीहरूको आवाज सरकारले नसुनेको बताए । उनीहरुले स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकारलाई चुरे संरक्षणका लागि बारम्बार आग्रह गरेको भए पनि सरकारले आफूहरूको आवाज नसुनेको चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले बताए ।

उनले चुरे तथा वन जंगल संरक्षण अभियान एक जनाको मात्रै अभियान नभएकाले सबै मिलेर चुरे संरक्षणमा लाग्नुपर्ने बताए । उनले प्राकृतिक श्रोत साधनको संरक्षणका निम्ति आवाज उठाउने नागरिकहरूको आवाज सरकारले नसुनेको बताए । राज्यले एकातिर प्राकृतिक सम्पदाको संरक्षणको कुरा गर्ने र अर्कोतिर चुरे संरक्षणका लागि आवाज उठाउनेहरूको आवाज नसुन्ने गरेको बताए ।

उनले भने ‘चुरे तथा वन जंगल संरक्षण अभियान एक जनाको मात्रै अभियान होइन । हामी प्राकृतिक श्रोत साधनको संरक्षणका निम्ति आवाज उठाइरहेका छौँ । हामी २५ दिनको हिँडाइ र १४ दिनको बसाइले हामी दुःखमा छौँ । राज्य प्राकृतिक श्रोत तथा संरक्षणको कुरा आफैँ गर्दछ, सरकारमा रहेकाहरू कतै न कतै दिवस मनाइरहनुभएको छ । तर हामीलाई साथ दिनुभएको छैन । जबकि कुरा यही हो । कस्तो मान्छे सत्तामा बसेको छ । हामीले भनेको कुरा के नमिल्दो छ । आम जनताले कुरा उठाउँमा सरकारबाट कोही पनि प्रतिनिधि पनि आएको छैन । उहाँहरूको दायित्व होइन यो । राज्यले दोहोरो चरित्र देखाएको छ । चुरे संरक्षणका लागि बजेट उठाएर कार्यकर्ता पाल्ने तर जनताको आवाज नसुन्ने छ ।’

चुरे तथा वन जंगल संरक्षण अभियानको आन्दोलनलाई समर्थन गर्न पुगेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले चुरे संरक्षणका लागि आन्दोलनरत पक्षहरूको आवाज सरकारले नसुन्नु दुःखको कुरा भएको बताए । उनले पर्यावरण, जलवायु परिवर्तनकाबारेमा कोही पनि संसदमा नबोल्नु र सरकारले बेवास्ता गर्नु दुःखदको विषय भएको बताए । उनले चुरे दोहन गर्नका लागि बजेट ल्याइने तर संरक्षणका लागि केही नभएको बताए ।

उनले भने ‘चुरे संरक्षणका लागि सप्तरीबाट २५ दिन हिँडेर काठमाडौं आउनु भयो । उहाँहरुले तीन तहकै सरकारलाई जानकारी दिनुभएको थियो । उहाँहरुले १४ दिनसम्म धर्नामा बस्दा पनि सरकार सुनिरहेको छैन । सरकार र सबै पार्टीका सांसदहरूले पनि सुन्नुभएन । पर्यावरण, जलवायु परिवर्तनकाबारेमा कोही पनि संसदमा बोलेनन् । चुरे दोहन गर्नका लागि बजेट ल्याइन्छ बरु तर संरक्षण गर्न केही छैन ।’

उनीहरुले सरकारले वातावरण दिवसको दिन नै चुरे संरक्षणकर्मीहरूको आवाज नसुनी भाषणमा सीमित हुने काम गरेको बताए । उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल, सरकारका मन्त्रीहरू, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको फोटो प्लेकार्डमा राखेर सरकार र नेताहरू हराएको साङ्केतिक विरोध गरेका छन् । उनीहरुले २५ दिन हिँडेर, १४ दिन धर्नामा, सरकार कता रु भन्ने जस्ता प्लेकार्डहरू बोकेर विरोध जनएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 2 =