प्रधानमन्त्री छोरी उत्थान कार्यक्रमले आम छोरीहरुको अपमान भयो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद वीरबहादुर बलायरले प्रधानमन्त्री छोरी उत्थान कार्यक्रमका लागि विनियोजित बजेटले आम छोरीहरुको अपमान गरेको टिप्पणी गरेका छन् ।

सरकारले सो कार्यक्रममा लागि १० करोड बजेट विनियोजन गरेको छ । सांसद बलायरले विनियोजित सो बजेटले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै छोरीहरुको अपमान गरेको बताएका हुन् ।

‘प्रधानमन्त्री छोरी कार्यक्रम आयो । प्रधानमन्त्रीको छोरी, अर्थमन्त्रीको छोरी अथवा मेरै छोरी अथवा सांसदहरुका छोरीहरु हुन् भने त मलाई केही भन्नुछैन’ उनले भने,‘तर जनताको छोरीका लागि हो भने यो विनियोजित बजेटले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा छोरीहरुको अपमान भएको छ । बरु त्यति नै रकम विनियोजन गर्ने हो भने त्यसलाई हटाईदिँदा जाति हुन्छ जस्तो मलाई लाग्दछ ।’

बुधबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले यस्तो अपमान हुने खालको बजेट निवियोजन गर्नुभन्दा त्यसलाई हटाउन उपयुक्त हुने सुझाव पनि सरकारलाई दिए ।

सांसद बलायरले द्वारिकादेवी ठकुरानी स्मृति भवनका लागि तत्काल बजेटको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।

‘महिला राजनीतिमा नेपालमा मात्रै नभएर एशियामा नै चर्चित नाम हो– एशियामा नै द्वारिकादेवी ठकुरानी । उहाँको स्मृतिमा गत वर्ष सरकारले केही बजेट विनियोजन गरेर उहाँको स्मृति भवन बनाउने तय गरेको थियो डोटीमा’उनले भने,‘तर अहिलेको सरकारले त्यसलाई अधुरैमा राख्यो । त्यसैले यथाशिघ्र त्यसको बजेटको व्यवस्थाका लागि म सरकारको ध्यानाकर्षण गराउनु चाहन्छु ।’

उनले भूकम्पले थला परेका कतिपय नागरिकका लागि अझै पनि बजेटको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना पनि गरे ।

सांसद बलायरले सरकारले भूकम्प पीडितहरुको राहतमा एकरुपता ल्याउन नसकेको आरोप पनि लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =