साढे तीन सयलाई तत्कालै रोजगारी दिइने

काठमाडौं । पोखरामा भएको श्रमाधान रोजगार मेलामार्फत रोजगारदाताले तत्कालै साढे तीन सय जनालाई रोजगारी दिने भएका छन् ।
मेलामा स्टल राखेका रोजगारदाताले रोजगारी दिने पदबारे लिखित जानकारी दिएको र योग्य कामदारलाई तत्काल रोजगारी दिने आयोजकले जनाएको छ । मेलामा रोजगारीका लागि फाराम भरेकालाई पछि सम्बन्धित कम्पनीले बोलाउने बताइएको छ ।
सोही आधारमा उनीहरूले रोजगारी पाउने कम्पनीले जनाएका छन् । श्रम मन्त्रालयका उपसचिव एवं गण्डकी प्रदेशका मेला संयोजक शारदा भण्डारीले आगामी वर्ष तीन तहकै सरकारले मिलेर एकै पटक मेला गर्ने योजना रहेको बताए । गण्डकीको मेलामा ६ वटा विषयमा प्यानल डिस्कसन, आठ शिर्षकमा काउन्सिलिङ भएको छ ।
मेला पाँच हजारभन्दा बढीले अवलोकन गरेका छन् । मेलामा आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, बोर्ड, सिजी ग्रुप, सामाजिक सुरक्षा कोष, एनएमबी बैंक, पोखरा महानगर, होङ्सी सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासंघ, होटल सरोवर, नेपाल उद्योग परिसंघलगायतका कुल ४२ स्टलहरू थिए ।








