बालेन साहले अशिष्ट अभिव्यक्ति तत्काल सच्याउनुपर्छ : महेश बर्तौला

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका पछिल्लो अभिव्यक्तिले आफैलाई गिज्याईरहेको टिप्पणी गरेका छन् ।

उनले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि निम्छरो, अशिष्ट र उदण्डताका साथ अभिव्यक्ति दिएको जिकिर गर्दै त्यसले उहाँको पदीय मर्यादालाई होचो बनाइरहेको प्रमुख सचेतक बर्तौलाको भनाई थियो ।

‘यो असाध्यै गलत ढंगलबाट विषयवस्तुहरु आयो । महानगरपालिकाका मेयरजीले जुन ढंगबाट असाध्यै तल्लोस्तरबाट टिप्पणीहरु जसरी गरिरहनु भएको छ’उनले भने,‘त्यो राम्रो होइन । उहाँ स्वयमले त्यो संस्थाको गरिमालाई गिज्याईरहनु भएको छ । मेयर जस्तो एउटा सम्माननित, मर्यादित पदलाई उहाँले गरेका टिप्पणीहरुले असाध्यै होचो बनाइरहेको छ ।’

मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले अध्यक्ष ओलीमाथि गालीगलौजको भाषामा मेयर साहको दिएको अभिव्यक्ति तत्काल सच्याउनुपर्ने समेत बताए ।

प्रमुख सचेतक बर्तौलाले मेयर साहले इतिहासलाई अवमूल्यन गर्ने, नेतृत्वमाथि गालीगलौज गर्ने शैलीले मुलुकको कानूनी शासनमाथि नै चुनौति दिने गरेको भन्दै आक्रोश व्यक्त गरे ।

‘राज्यका विद्यमान कानुनी प्रवन्धहरुलाई नै चुनौति दिनेगरी एक जना मेयरले जे हर्कत गरिरहेको । यो राम्रो होइन’ उनले भने,‘कानूनी शासनको पक्षमा उभिएका, राष्ट्रको हितको पक्षमा उभिएका सबै शक्तिहरु, सबै व्यक्तिहरु वा जोसुकै हुन । तिनीहरुमाथि गलत ढंगबाट नकारात्मक टिप्पणी गरेर ताछ्ने शैलीका साथ जे श्रृंखला अवलम्बन भईरहेको छ । यो सच्याउन पर्छ उहाँले ।’

उनले राष्ट्रको हितमा उभिएका कुनै शक्ति र व्यक्तिमाथि त्यस्ता खालको गालीगलौजको भाषा प्रयोग नगर्न पनि मेयर साहलाई सचेत गराए ।

प्रमुख सचेतक बर्तौलाले राज्यका विद्यमान कानूनी प्रबन्धहरुलाई कुनैपनि व्यक्तिले चुनौति दिन नमिल्ने पनि बताए ।

उनले भने–‘उहाँले यो देशको नेतृत्वहरुप्रति, पूर्वप्रधानमन्त्रीहरु प्रति जुन ढंगबाट सधै निम्छरो तरिकाले अशिष्ट, उदण्ड तरिकाका साथ जे प्रश्तुती गरिरहनु भएको छ । यो राम्रो छैन । यसले इतिहासलाई अवमूल्यन गर्ने, नेतृत्वमाथि गालीगलौज गर्ने, कहिले सिंहदरवार जलाई दिन्छु भन्ने, कहिले के भन्ने ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =