सांसद दाहालको प्रश्न– संयुक्त सरकारको सञ्चालनको विधिअनुसार बजेट निर्माण भएको हो ?

काठमाडौँ । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले संयुक्त सरकारको सञ्चालनको विधिअनुसार बजेट निर्माण नभएको बताएका छन् ।

आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारको नीति कार्यक्रम र बजेट तयार गर्दा सरकारमा सामेल भएका राजनीतिक दलहरूसँग छलफल गरेर ल्याउनुपर्ने भएपनि त्यो हुन नसकेको बताए । उनले नीति तथा कार्यक्रमको आधार बजेटमा छ की छैन ? भन्दै प्रश्नसमेत गरे ।

उनले संयुक्त सरकार बनाउँदाका न्यूनतम नीति वा प्राथमिकताका साझा संकल्पमा टेकेर ल्याइएको छ की छैन भन्ने उनको प्रश्न थियो । उनले शिथिल भएको अर्थतन्त्रलाई माथि उठाउने गरी बजेट ल्याउन आवश्यक रहेको बताए ।

उनले भने ‘संयुक्त सरकारको सञ्चालनको विधि के छ ? सरकारको नीति कार्यक्रम र बजेट तयार गर्दा सरकारमा सामेल भएर वा भरसक अध्यक्ष वा उहाँले तोकेका व्यक्ति राखेर छलफल गर्नुपर्ने यो गरेको छ की छैन । यसको जवाफ अर्थमन्त्रीज्यूले दिनुहुनेछ । नीति तथा कार्यक्रमको आधार बजेटमा छ की छैन । यो बजेट संयुक्त सरकार बन्दा न्यूनतम नीति वा प्राथमिकताका साझा संकल्प त्यसले जे संकल्प बोकेको थियो वा त्यसलाई हेरेर ल्याउनुपर्ने त्यो हेरेर ल्याएको छ की छैन । यसले प्राथमिकता पाएको छ की छैन । १६ औं पञ्चवर्षीय योजनाका लक्ष्य हासिल गर्न ध्यान दिइएको छ की छैन । शिथिल भएको अर्थतन्त्रलाई माथि उठाउने गरी नीति तथा कार्यक्रम आउनुपर्ने हो ।’

उनले समृद्ध नेपाल र सुखी नेपालको नाराका आधारमा बजेट आएको भन्दै सही कुरा समावेश गरिएको पनि बताए । उनले कृषि क्षेत्रको रूपान्तरणको विषय पहिलो प्राथमिकता पर्नु राम्रो भएको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =