जनताको लागि फेरि एउटा नयाँ आन्दोलनको तयारीमा छौँ : प्रधानमन्त्री (भिडिओ)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र, वर्ग र जनताको निम्ति फेरि एउटा नयाँ आन्दोलनको तयारीमा रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा जनसांस्कृतिक महासंघ नेपालको राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘हामी कोही दुविधामा बस्न हुँदैन । किनभने क्रान्तिको बाटो सरल रेखामा जाँदैन । रणनैतिक रुपमा कतातिर सोच्दैछौँ भन्नेबारेमा ध्यान दिनुपर्छ’उनले भने, ‘राष्ट्रको निम्ति, वर्ग र जनताको निम्ति फेरि पनि एउटा नयाँ आन्दोलनको तयारीका रुपमा हामी अघि बढिरहेका छौँ ।
उनले क्रान्तिको बाटो सरल रेखामा नजाने बताउँदै सरकारको तर्फबाट सुशासन, सामाजिक न्याय र समृद्धिको मात्रै कुरा नगरिएको बताए ।
उनले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई गम्भीरताका साथ हेर्ने हो भने समाजवादको बीउ रोप्ने प्रयास गरिएको उल्लेख गरे ।
उनले समाजवादको निम्ति एकता आवश्यक रहेको पनि बताए । उनले सामाजिक न्याय, सुशासन र समृद्धिको कुरा गर्नुको तात्पर्य समाजवादको आधार तयार पार्नु रहेको बताए ।
उनले कृषिलाई आधार बनाएर र आइटीलाई अगाडि बढाएर मात्रै समाजवादी यात्रामा अघि बढ्नसक्ने बताए । समाजवादको सोच र रूपान्तरणको अभियान सांस्कृतिक रूपान्तरणको अभियान भएको बताए ।
‘अब समाजवादको एउटा नयाँ यात्रातिर हामी छौँ । त्यहाँ भनिएजस्तै समाजवादले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पनि एउटा ठूलो शक्ति सञ्चयको अपेक्षा गर्दछ’ उनले भने, ‘आफ्नो देशभित्र मात्रै होइन, विश्वभरका श्रमीकहरुसँग, सबै न्यायप्रेमी जनसमुदायसँग एउटा ठूलो एकताको अपेक्षा राख्दछ ।’
प्रधानमन्त्री दाहालले सामन्तवादी संस्कृतिले खडा गरेको रूढीवाद, अन्धविश्वास, अन्धभक्तिलाई पाखा लगाएर समाजवादी संस्कृतिको जग बसाल्नुपर्नेमा जोड दिए ।
समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक भएको बताए ।
उनले भने– ‘हामीले समाजवादी क्रान्तिको कुरा गर्दा हामलिे भनेका के छौँ भने अहिले आधार निर्माण गर्ने कुरालाई मुख्य भनेका छौँ । हामीले सामाजिक न्याय, सुशासन र समृद्धिको कुरा गर्नुको तात्पर्य समाजवादको आधार तयार पार्नु नै हो । हामी कोही कन्फ्युजनमा बस्नु हुँदैन ।’








