कार्यादेश टुङ्ग्याउन शीर्ष नेताहरु एकै ठाउँमा

काठमाडौं । सहकारी संस्थाको रकम अपचलन, हिनामिना र अनियमितताका सन्दर्भमा संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन शीर्ष नेताको बैठक बस्दैछ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीका अनुसार आइतबार बिहान ९ बजे बस्ने तय भएको बैठक सोमबारलाई सारिएको हो ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको बैठकबाटै समितिको कार्यादेश बनाउने जिम्मा पाएको समितिमा भएको सहमति र विमतिको विषयलाई टुङ्ग्याउने गरी बैठक बस्ने भएको हो । ‘कार्यादेश बनाउन गठित समितिमा भएको सहमति र विमतिका सन्दर्भमा शीर्ष नेतृत्वको बैठकबाट सहमति गरेर कार्यादेश र क्षेत्राधिकारलाई अन्तिम रूप दिने तयारी गरिएको छ,’ मन्त्री गिरीले भने ।

यसअघि शनिबार बसेको कार्यदलको बैठकमा ऋण दिने सहकारी संस्था र ऋण लिने कम्पनीको नाम उल्लेख गर्ने सहमति भएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पनि शीर्ष नेतासँग बसेर कार्यादेश टुङ्ग्याउने समझदारी भएको बताए । सहकारीबाट रकम लगेर अपचलन, हिनामिना, दुरुपयोग भएको विषयमा यो यो सहकारीबाट अपचलन भएको र यी यी व्यक्तिले अपचलन गरेको भनेर लेख्नुपर्ने कांग्रेसले अडान राखेको छ ।

सहमहामन्त्री जीवन परियारले व्यक्तिको नाम नतोके पनि प्रश्न उठेका पदाधिकारीको पद तोक्नुपर्ने बताए । उनले सहकारीको नाम, अपचलन भएको कम्पनी र अपचलन गर्नेको पद उल्लेख गर्नुपर्ने बताए । कांग्रेसले गोरखा मिडिया नेटवर्कमा लगानी गर्ने सहकारीको नाम तोक्ने तथा नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम तोकेरै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राखेपछि र सत्ता पक्षले नाम राख्न नहुने अडान लिएपछि संसदीय छानबिन समिति गठन प्रक्रिया टुङ्गिएको छैन  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *