अकंमाल गरौँ कमरेड भनेर सहमति हुँदैन : झलनाथ खनाल (भिडिओ)

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले पार्टीको आगामी महाधिवेशनमा वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा पार्टीको नेतृत्व चयन गर्नुपर्ने बताएका छन् ।
सोमवार अखिल नेपाल महिला संघ (समाजवादी) को वैचारिक मुखपत्र महिला संकल्प–२ को विमोचन समारोहलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् ।
उनले पार्टीको आगामी महाधिवेशनबाट सहमतिमा नेतृत्व चयन गर्नुपर्ने भन्दै निश्चित आधारमा मात्रै सहमतिमा नेतृत्व चयन हुनसक्ने बताए ।
उनले नेताहरूको टाउको जोडेर मात्रै सहमति नहुने भन्दै वैचारिक, राजनीतिक कार्यदिशा तथा नीति र सिद्धान्तमा आधारित भएर पार्टीको नेतृत्वका लागि सहमति गर्नुपर्ने बताए । उनले सहमतिमा नेतृत्व चयन गर्नका लागि सबैले प्रयत्न गर्नुपर्ने बताए ।
उनले भने – ‘नेतृत्व निर्माण गर्ने भनेको कमरेडहरूले भनेजस्तै एकदमै सहमतिका साथ नेतृत्व निर्माण गर्नुपर्छ । तर सहमति भनेको के त ? सहमति भनेको केमाथि आधारित हुन्छ ? यसो हामीले टाउका जोडेर हुन्छ कि ? अकंमाल गरौँ कमरेडहरू भनेर हुन्छ कि ? के ले हाम्रो एकता गर्छ ? तपाईँ हामी सबै के आधारले यहाँ जुटेका छौँ ? हामी जुटेको भनेकै एउटा वैचारिक, राजनीतिक कार्यदिशाको आधारमा, नीतिको आधारमा, सिद्धान्तको आधारमा, एउटा लक्ष्यको आधारमा तपाई हामी जुटेका छौँ । पार्टी भनेको त्यस्तै हो । त्यो निश्चित आदर्श, सिद्धान्त, नीतिको आधारमा हुने कुरा हो । त्यसरी नै नेतृत्व निर्माण पनि सही वैचारिक, राजनीतिक, आधारमा हुन्छ । सहमतिका साथ गर्नुपर्छ, एकदम ठिक हो । तर त्यो सहमति केमाथि आधारित हुनुपयोै ? वैचारिक, राजनीतिक कार्यदिशा, नीति, सिद्धान्तमाथि आधारित हुनुपर्यो । त्यस्तो आधारित सहमतिको नेतृत्व निर्माण गर्यौँ भने त्यो सुनमा सुगन्ध हुन्छ । त्यसकारण सुनमात्रै नबनाऔँ । सुगन्ध आउने सुन बनाऔँ । त्यसको लागि हामी सबैले प्रयत्न गर्नुपर्ने हुन्छ । सबैले प्रयत्न गर्यौँ भने सुनमा सुगन्ध आउँछ ।’
सम्मानित नेता खनालले हाल पार्टीभित्र ८ प्रतिशत मात्रै महिला सदस्यहरू रहेको भन्दै धेरै भन्दा धेरै महिला तथा श्रमिक महिलाहरूलाई पार्टीमा संगठित गर्नुपर्ने आवश्यकता रहेको बताए ।








