गृहमन्त्रीको नाम उल्लेख गरेरै छानविन समिति बन्ने कुराबाट पछि हट्दैनौँ : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी प्रकरण छानविन गर्न गठित संसदीय समितिमा गृहमन्त्रीको नाम उल्लेख गर्नुपर्ने आफूहरुको अडान कायम रहेको बताएको छ ।
आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यदल सदस्य समेत रहेका सांसद परियारले कार्यदल बैठक काँग्रेसले अघि सारेको प्रश्तावमा जहाँको त्यहीँ भएको बताए ।
उनले आफूहरु गृहमन्त्री लामिछानेको नाम तोकेरै कार्यादेश बनाउनुपर्ने अडानमा कायम रहेको उल्लेख गर्दै सत्तापक्ष सो कुरामा सहमत नभएको बताए ।
उनले सत्तापक्ष विभिन्न शब्दहरुमा खेलिरहेको आरोप पनि लगाए । उनले विभिन्न सहकारीको रकम अपचलन भएको गोर्खा मिडिया नेटवर्कसँग संवद्ध पदाधिकारीहरुलाई छानविनको दायरामा नल्याएसम्म काँग्रेस मान्नेवाला नरहेको स्पष्ट पारे ।
उनले कार्यादेशमा सहमती भएर संसदीय छानविन समिति बनेन भने बजेट प्रश्तुत हुँदापनि आफूहरुको आन्दोलन जारी रहने बताए ।
नेपाली काँग्रेसकी सांसद जावेदा खातुन जागाले सहकारीबाट अपचलन भएको जनताको लाखौँ रुपैयाँ रकम फिर्ता नभएसम्म आफूहरु पछि नहट्ने बताइन् ।
उनले गृहमन्त्रीमाथि छानविन गर्न समिति नबनेसम्म आन्दोलन जारी रहने बताइन् । उनले सडक आन्दोलन समेत शुरु भएको जानकारी दिइन् ।
नेपाली कांग्रेसकी सांसद रमा कोईराला पौड्यालले राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद स्वर्णिम वाग्लेलाई सहकारी ठगको मतियार भएको आरोप लगाइन् ।
वाग्लेले प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा बिपी कोईरालाको नाम लिएको भन्दै सहकारी ठगको मतियारले बिपीको नाम लिनु गलत भएको बताइन् ।
उनले सहकारी ठगलाई बिपी कोईरालाको नाम लिने अधिकार नभएको बताइन् ।
उनले गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्नेगरी संसदीय छानविन समिति नबनेसम्म काँग्रेसको आन्दोलन जारी रहने बताइन् ।








