महाधिवेशनसम्बन्धी दस्तावेज सबै जिल्लामा पठाउँदै नेकपा एस

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले १०औँ राष्ट्रिय महाधिवेशनका लागि तयार गरेको दस्तावेज यही जेठ १५ गते जिल्लामा पठाउने भएको छ ।

महाधिवेशनका लागि तयार गरिएका राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजलाई थप समृद्ध बनाउन जिल्ला कमिटीमा छलफलका लागि पठाउन लागेको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिइन् ।

कम्युनिष्ट पार्टी स्थापनाको करिब ७५ वर्षको अनुभवमा आधारित भएर पार्टी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियता, शोषण र उत्पीडन, सैनिक, जातीय, भाषिक र सामाजिक विभेदका साथै वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा गरी राजनीतिक दस्तावेज तयार पारेका छन् ।

सम्मानित नेता झलनाथ खनालले देशको समाजवादी क्रान्ति र रूपान्तरणको कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम, रणनीति, कार्यनीति, क्रान्तिको बाटो, नेपाली समाजका आधारभूत र प्रधान अन्तरविरोधहरूको विश्लेषण गरी समाजवादी दस्तावेज तयार पारेका छन् ।

उपाध्यक्ष बेदुराम भुसालले तयार पार्नुभएको विधान दस्तावेजमा प्रतिनिधि सम्बन्धित कमिटीबाट निर्वाचित भएर आउनुपर्ने, युवा सहभागिता वृद्धि गर्नेलगायतका विषय उल्लेख गरिएको छ । महासचिव घनश्याम भुसालले तयार पारेको सङ्गठनात्मक दस्तावेजमा पार्टीको देशभरको अवस्था, आगामी कार्यक्रमको रणनीतिबारे प्रष्ट पारिएको छ ।

चारवटा प्रतिवेदनलाई सबै तहका कमिटीबाट छलफलपछि प्राप्त निष्कर्षका आधारमा त्यसलाई एउटै साझा दस्तावेज बनाएर महाधिवेशनमा प्रस्तुत गरिने केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए ।

आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्न पार्टीले महाधिवेशन तयारी मूल व्यवस्थापन कमिटीलाई तोकिएको जिम्मेवारी निर्धारित समयमै पूरा गर्न निर्देशन दिएको छ ।

पार्टीको नयाँ र पुरानो सङ्गठित सदस्यको सदस्यता नामावली विवरण अद्यावधिक गरिएको छ । आगामी असार पहिलो साताभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *