संसदमा हुने छलफल, बहस, शब्द चयन सुन्दा मर्यादाहीन लाग्यो : अग्निप्रसाद सापकोटा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसदको गरिमा र ओझ खस्कँदै गएको बताएका छन् ।
शनिवार काठमाडौंमा भएको नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन बागमती प्रदेश समिति, काठमाडौंको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संसदमा हुने बहस, छलफल, शब्द चयनहरू स्तरहिन, मर्यादाहीन भएको बताए । संसद कुनैपनि देशको लोकतन्त्रको आत्मा, सुशासनको महत्वपूर्ण संवाहक भएपनि संसदमा राम्रोसँग संसदीय गतिविधिहरू सञ्चालन हुन नसकेको बताए ।
उनले अहिले अराजकताको स्थिति, प्रियतावादको रुझान र अस्तव्यस्तता राष्ट्रिय परिस्थितिका रुपमा देखिएको बताए । उनले आगामी आर्थिक वर्षको बजेट कुनैपनि रोकटोक बिना संसदमा प्रस्तुत हुनेमा आफू आशावादी रहेको बताए । उनले अहिलेको राष्ट्रिय परिस्थिति जटिल र पेचिलो बन्दै गएको पनि बताए ।
उनले भने ‘अहिलेको राष्ट्रिय परिस्थितिमा अलिकति जटिल, पेचिलो परिस्थिति पैदा भएको छ । भर्खरैमात्र हाम्रो पार्टीका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्रीज्युले विश्वासको मत लिनुभएको छ । मलाई भर्खरै नयाँ बनेको समीकरणमा खासै त्यस्तो ठूलो समस्या छैन । तर पनि सदन सुचारु गर्नका लागि दिनदिनै छलफल चलिरहेको छ । अहिले पनि छलफल जारी छ । निरन्तर जारी छ । नेतृत्व तहमा पनि छलफल चलिरहेको छ । भोलिसम्म सहमतिको वातावरण बन्ने आशा गर्न सकिन्छ । सकारात्मक वातावरण बनिरहेको भनिएको छ । कुनै न कुनै तरिकाले सहमति बन्छ र निकास निस्किन्छ ।
२०८१ सालमा प्रस्तुत गर्ने बजेट सदनमा निर्विघ्नतापूर्वक प्रस्तुत हुने आशा छ । राष्ट्रिय परिस्थितिको बारेमा कुराकानी गर्दा अहिले एउटा अराजकताको स्थिति र अर्कातिर प्रियतावादको रुझान, अस्तव्यस्तताको स्थिति देखिन्छ । संसद कुनैपनि देशको रुपमा फरक फरक हुन्छन् । संसद कुनैपनि देशको लोकतन्त्रको आत्मा हो, सुशासनको राम्रो महत्वपूर्ण संवाहक हो । तर त्यहाँ आज राम्रोसँग गतिविधि अघि बढेका छैनन् । संसद भन्दा उच्च जनप्रतिनिधिको थलो अर्को छैन । त्यहाँ हुने छलफल, बहस, शब्द चयन, वाक्य गठन सुन्दा हामीलाई के लाग्छ भने स्तरहिन, मर्यादाहीन भएको छ । ओझ र गरिमायुक्त हुनुपर्ने ठाउँमा दिनदिनै ओझ र गरिमा नभई आफ्नो साख गिराउँदै छ ।’
उपाध्यक्ष सापकोटाले देश अहिले छटपटी, उकुसमुकुस वातावरणमा रहेको बताए । उनले देशमा विचारहीनको स्थिति सिर्जना भएको बताए ।








