कार्यदलको बैठक निष्कर्षविहीन, अब शुक्रबार बिहान बस्ने

सहकारीको रकम हिनामिना र अपचलन सम्बन्धी गठन गर्ने भनिएको संसदीय छानबिन समितिका लागि कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्षविहीन भएको छ।

बिहीबार सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको बैठकमा सहमति जुट्न नसकेपछि निष्कर्षविहीन भएको हो ।

बैठक शुक्रबार बिहान ८ः३० बजे फेरि बस्ने कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिए । शुक्रबार बिहान बस्ने बैठकमा सहमति गरेर ११ बजे संसद् बैठक खुलाउने प्रयास हुने उनले बताए ।

बैठकमा सत्ता पक्ष सहकारीको नाम राख्न सहमत भए पनि  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाममा असहमत भएको बर्तौलाले बताए ।

कांग्रेस नेता जीवन परियारले सत्ता पक्षले नाम नराखी छानबिनको दायरालाई अगाडि बढाउन प्रस्ताव गरेको बताए।

उनले सम्बन्धित व्यक्तिको बारेमा छानबिन गर्ने उल्लेख नगरी कांग्रेसले कार्यदलमा सहमति नगर्ने बताए।

कार्यदलमा सरकारको तर्फबाट कानुनमन्त्री पदम गिरी र नेकपा एमालेको तर्फबाट प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, नेता ज्ञानेन्द्र कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनाल रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *