थाई एयरवेजको सेवा नेपालमा पुनः सुरुवात

काठमाडौँ । थाइल्याण्डको ध्वजावाहक एयरलाइन्स कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुनः सुरु गरेको आधिकारिक रुपमा जानकारी दिएको छ । थाई एयरवेजले सन् १९६८ मा बैंककदेखि कलकत्ता हुँदै काठमाडौँसम्मको उडानमार्फत नेपालमा आफ्नो वायुसेवा सुरु गरेको थियो ।

नेपाललाई विश्वसँग जोड्ने र विश्वबजारका यात्रीहरूलाई पनि नेपाल ल्याउने थाई एयरवेजको यो आधा शताब्दी लामो यात्रामा कोभिड महामारीका कारण मार्च २०२२ मा रोकिएको थियो । थाई एयरवेजले २९ अक्टोबर २०२३ मा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नेपालको लागि जेनरल सेल्स एजेन्टको रूपमा नियुक्त गरेर आफ्नो सेवा फेरि सञ्चालन गरेको थियो ।

हाल थाई एयरवेजले नेपालमा एयरबस ३२० न्युरो बडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ । स्थानीय बजारको अवस्था राम्रोसँग बुझेको सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेज थाई एयरवेजको लागि एक उत्कृष्ट साझेदार बनेको छ । नेपालमा पुनः उडान सुचारु भएको डेढ महिनाभित्रै राम्रो प्रतिक्रिया प्राप्त गरेपछि थाई एयरवेजले १५ डिसेम्बर २०२३ मा दोस्रो दैनिक उडान सुरु गरेको हो ।

हाल थाई एयरवेजले ६० भन्दा बढी गन्तव्यहरूमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट, ७७७ एयरक्राफ्ट, ड्रीमलाइनर ७८७, र एयरबस ३५० एयरक्राफ्टहरू सञ्चालन गर्दै आएको छ । यी विमानहरू आरामदायी सिटको लागि प्रसिद्ध भएको कम्पनीले जनाएको छ ।

थाई एयरवेजका डिरेक्टर अफ सेल्स खुन विट किचाथोर्नले वायुसेवा पुनः सुचारुको बारेमा बोल्दै भने ‘काठमाडौं र बैंकक बीचको उडान सेवा पुनः सुरु भएको घोषणा गर्न पाउनु हाम्रो लागि सौभाग्यको कुरा हो । यो सेवाले नेपाललाई थाइल्याण्ड लगायत विश्वका ३० अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्नेछ । हामीले सन् १९६८ मा नेपालका लागि पहिलो पटक सेवा सुरु गरेदेखि नै हाम्रो यात्रा सांस्कृतिक र आर्थिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने एउटा माध्यम बनेको छ, र हामी यो महत्त्वपूर्ण सम्बन्ध पुनः सुरु गर्न पाउँदा खुसी छौँ ।’

सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका एक्जिक्युटिभ चेयरम्यान र आरआर ग्रुप अफ कम्पनीका ग्रुप चेयरम्यान रवि चन्द्र सिंहले भने ‘काठमाडौं र बैंककलाई उडान मार्फत जोड्दै हाम्रो सेवाहरू पुनः सुरु गर्न पाउँदा हामी हर्षित छौं । सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्य खोज्ने यात्रुहरूका लागि नेपाल सधैँ लोकप्रिय गन्तव्य भएको छ । हाम्रो सेवाहरूले नेपाल र थाइल्याण्ड बीच उडान गर्ने यात्रुहरूलाई सहज र रमाइलो यात्रा अनुभवहरू प्रदान गर्नेछ ।’

हाल थाई एयरवेजसँग कूल ७३ विमान छन् जुन औसतमा दैनिक १२.८ घण्टा उडान भर्छन् । थाई एयरवेजले यात्रुहरूलाई विश्वसँग जोड्दै गर्दा लगातार यात्रुहरूको बढ्दो मागलाई सम्बोधन गर्न उडान सञ्चालनको समय तालिका व्यवस्थित गर्छ जसले गर्दा यात्रुहरूले उत्कृष्ट सेवाको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

थाई एयरवेज थप नेपाली यात्रुहरूलाई थाई आतिथ्यताको न्यानोपन सहित स्वागत गर्न तत्पर रहेको जनाएको छ ।

यात्रुहरूको पहिलो रोजाइमा परिरहनको लागि थाई एयरवेजले यात्रुहरूको सन्तुष्टिमा केन्द्रित भएर विशेष सेवाहरू प्रवाह गर्ने बताएको छ । थाई एयरवेजका यात्रुहरूले सिट, समान लगायत आफ्नो आवश्यकता अनुसार थप सेवाहरू खरिद गर्न सक्ने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *