जलवायु अनुकुलन कार्यक्रमका लागि अनुदान बढाउन जरुरी : डा. पौडयाल

काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री डा विमला राई पौडयालले जलवायु परिवर्तनले पछिल्लो समयमा पारेको नकारात्मक प्रभाव न्यूनीकरणका लागि जलवायु अनुकुलन कार्यक्रमका लागि अनुदान बढाउनुपर्नेमा जोड दिएकी छन् ।

यहाँ जारी ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ दोस्रो दिनको ‘स्थानीयरूपमा नेतृत्व अनुकूलनः पहाडदेखि समुद्री पारिस्थितिकी प्रणाली’ विषयक सत्रमा आज उनीले जलवायु कोषबाट अनुदान ल्याउन प्रक्रिया पनि सरलीकृत हुनुपर्ने धारणा राखिन् ।

उनीले प्राप्त अनुदान महिला तथा सिमान्तकृत समुदायलाई समेत सम्बोधन हुने गरी वितरण गर्न आवश्यक रहेको बताइन् । जलवायु परिवर्तनले ल्याएका समस्यालाई सम्बोधन गरी सामाजिक विभेदको समेत अन्त्य गर्नुपर्ने पौडयलको भनाइ छ ।

‘फरक–फरक स्थानमा जलवायु परिवर्तनको असर पनि फरक छ, जोखिमका आधारमा प्राथमिकीरण गरेर जलवायुका नीति तथा योजना ल्याउनुपर्छ’, उनीले भनिन्, ‘जलवायु परिवर्तनले ल्याएका चुनौती र समाधानका लागि स्थानीयले परम्परागतरुपमा गर्दै आएका सिकाइलाई समेत आधारित भएर उनीहरूको सफल कथा बाहिर ल्याउनुपर्छ ।’

स्थानीय तहमा जलवायु परिवर्तनका प्रभावले पारेको असरभन्दा जलवायुका प्राविधिक तथा वैज्ञानिक टोली टाढा भएको भन्दै स्थानीय समस्यालाई नियालेर उनीहरूलाई वैज्ञानिक ज्ञान दिन आवश्यक रहेको उनीको सुझाव छ ।

उनीका अनुसार जलवायु परिवर्तनको प्रभावकारी कार्यक्रम सञ्चालनका लागि जलवायु परिवर्तनसम्बन्धी ज्ञानमा स्थानीय सरकारलाई सबल बनाउनुपर्छ । नीतिगत कुराहरूमा संवाद अपर्याप्त रहेको भन्दै उनीले नीतिमा तालमेले हुन जरुरी रहेकामा जोड दिएकी छन् ।

जलवायु परिवर्तनका बढी जोखिम महिला तथा सिमान्तकृत वर्गले बढी भोग्नुपरेको भन्दै यी वर्गलाई केन्द्रमा राखेर नीति तथा योजना बनाउन आवश्यक रहेको उनीले बताइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *