कैलाश सिरोहिया पक्राउप्रति नेपाल मिडिया सोसाइटीको विरोध

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएकोप्रति नेपाल मिडिया सोसाइटीले विरोध जनाएको छ ।

बुधवार पत्रकार सम्मेलन गर्दै नेपाल मिडिया सोसाइटीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई सरकारले पक्राउ गरेको भन्दै विरोध जनाएको हो । सिरोहियालाई नागरिकता किर्तेको आरोपमा मंगलवार प्रहरीले पक्राउ गरी धनुषा पुर्याएको थियो । सोही विषयमा मिडिया सोसाइटीले पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले सिरोहियाको रिहाइ नभएसम्म सोसाइटीले निरन्तर संघर्ष गर्ने बताए । उनले आफूहरूले बोलेर र लेखेर संघर्ष गर्ने भन्दै मिडियालाई बचाउनका लागि संघर्षमा उत्रेको बताए । उनले सिरोहियालाई पक्राउ गरेर मिडियालाई तर्साउन खोजिएको बताए । अध्यक्ष कँडेलले सरकारले मिडियामाथि अधिनायकवादी तरिका अपनाएको र मिडियाको मुख बन्द गराउने खतरनाक प्रवृत्ति सुरु भएको उल्लेख गरे ।

उनले भने ‘जहाँ जहाँ तानाशाही प्रकारको शासन व्यवस्था लाद्न चाहन्छन् । चुनाव जितेका हुन् । पार्टी बनाएका हुन् । संविधानमा लोकतान्त्रिक भनिएको होस् । तिनीहरूले गर्ने भनेको यस्तै अधिनायकवादी बाटो, निरंकुशताको बाटो हुँदोरहेछ । त्यसकारण नेपालमा अहिले खतरा के हो भने यो नयाँ खालको अधिनायकवादी तरिका मिडिया ओनरलाई तर्साएर मिडियालाई आफ्नो वशमा राख्छु । वा मिडियाको मुख बन्द गराउँछु भन्ने नयाँ खतरनाक प्रवृत्ति सुरु भएको छ ।

अर्को हाम्रो माग छ, यो पहिलो र अन्तिम होस् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भन्न चाहन्छु, यो पहिलो र अन्तिम होस् । प्रधानमन्त्री प्रचण्ड र सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको नागरिकतामा पनि कतै कुनै विवरण बदल्नु भएको छ कि ? मलाई शंका छ । आजकाल उहाँहरूको नागरिकता हाम्रो जस्तै कागजमा आउँछ । प्रतिलिपि निकालेको बोक्नु भएको छ । प्रतिलिपि निकाल्नुभन्दा पहिला त कैलाश सिरोहियाको जस्तै नेपाली कागजमै थियो होला । नेपाली कागजमा भएको नाम, थर, जिल्ला, उमेर, मितिको बारेमा नेपाल मिडिया सोसाइटीलाई पनि गम्भीर शंका छ ।

सबै पत्रकार साथीहरूलाई एकचोटी प्रधानमन्त्रीको र पूर्वप्रधानमन्त्री केपी ओली, शेरबहादुर देउवा, माधवकुमार नेपालको नागरिकताको विवरण पक्कैपनि फरक पर्यो होला कि ? बदलिएको छ कि ? त्यसबारेमा हामीले एकपटक खोजौँ । कैलाश सिरोहियाको रिहाइ नभएसम्म र उहाँमाथिको गिरफ्तारीको विरुद्ध निरन्तर सङ्घर्षरत छौँ । मिडिया सङ्घर्षरत भनेको हामी बोलेर हो । लेखेर हो । हाम्रो बोली र लेखाइ नै सबभन्दा ठुलो बल हो । हामीले बोल्ने र लेख्ने भनेको कैलाश सिरोहियाको माया लागेर नभएर कैलाश सिरोहिया बच्नुपर्छ । अन्य मिडियाजस्तै ऊ पनि बच्दाखेरि मात्रै नागरिकको आवाजलाई जनतासम्म पुर्याउन बल मिल्छ । र यसलाई अझ बलियो बनाउनुपर्छ भन्ने हदमा मात्र हामीले यसको बारेमा विरोध गरेका हौँ । संघर्षमा आएका हौँ ।’

अध्यक्ष कँडेलले पूर्वप्रधानमन्त्रीहरुको समेत नागरिकताको प्रतिलिपि लिँदा विवरण फरक परेको हुनसक्ने भन्दै त्यसबारे पनि खोज्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *