चर्चित कथा वाचक साइग्रेसको कथा ‘अधुरो प्रेम’ मा चलचित्र बन्दै

काठमाडौँ । चर्चित कथा वाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’ मा आधारित रही चलचित्र बन्ने भएको छ । शनिवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रे’ को ६०औँ शृङ्खलामा साइग्रेस आफैले यो चलचित्रको घोषणा गरे ।

यो चलचित्रलाई शिशिर खातीले निर्देशन गर्ने र यसअघि चलचित्र ‘रङ्गेली’ बनाएको कम्पनी प्लानेट थ्री फिल्म्सले निर्माण गर्ने तय भएको छ । कार्यकारी निर्माताको रूपमा अर्जुन सुवेदी रहेका छन् । चलचित्रको घोषणा गर्दा यसको थिम पोस्टर पनि सार्वजनिक गरिएको थियो ।

यस चलचित्रको शीर्षक पनि अडियो नोभेलको नामबाट ‘अधुरो प्रेम’ नै राखिएको छ । साइग्रेसले आफ्नै युट्युब च्यानलमा तीन वर्ष अगाडी अपलोड गरेको १ घण्टा ४६ मिनेट लामो अडियो नोभेल ‘अधुरो प्रेम’ हालसम्म ६२ लाख भन्दा बढी पटक सुनिएको छ । यसलाई अडियो सुन्ने अन्य प्लेटफर्महरूमा समेत लाखौँ पटक सुनिएको छ ।

एक हजार बढी दर्शकमाझ आयोजित कार्यक्रममा चलचित्र घोषणा अघि साइग्रेसले आफ्नो जीवन कथालाई फोटो प्रस्तुतिमार्फत देखाएका थिए । उनले जीवनको एक कालमा भएको प्रेमबारे आफूले यो अडियो नोभेल तयार पारेको बताए । उनले यो नोभेलमा आधारित रहेर सुजन चापागाईँ र उनको टिमले गीत तयार पार्ने घोषणा समेत गरे । तर सो गीत भने चलचित्रमा हुनेछैन ।

आफ्नो कथामा चलचित्र बन्न लागेकोमा त्यसको जस दर्शकलाई दिँदै साइग्रेसले यो कथा आफ्नो मुटुको सबैभन्दा नजिकको रहेको बताए । ‘यो सम्भव भएको पनि तपाईँकै कारणले हो । म केही छु भने यो तपाईँको प्रेमले हो । यो चलचित्र बन्नु लाग्नुको कारण पनि तपाईँ नै हो,’ उनले भने, ‘मलाई शिशिरले भेटेर तपाईँको अधुरो प्रेम साह्रै नै मन पर्छ, म लैजान चाहन्छु भन्नुभयो । मलाई साह्रै नै डर लाग्यो । त्यो मेरो मुटुको सबैभन्दा नजिकको कथा, बरु अर्को दिन्छु नि भनेँ । उहाँले हुँदैन भन्दै मलाई त्यही कथा चाहिन्छ, मलाई जुन काममा चुनौती हुन्छ त्यही गर्न चाहन्छु भन्नुभयो । मलाई अझै पनि डर थियो, मैले पाँच पटकको भेटपछि मात्र कथा दिएँ । अब तपाईँको प्रेमले सफल हुनेछ।’

पहिलो पटक चलचित्र निर्देशन गर्न लागेका शिशिरले आफू साइग्रेसको आवाजको फ्यान मध्ये एक रहेको बताए । ‘मैले लगातार सात–आठ महिना देखी चलचित्रको विषयलाई लिएर पिछा गरिरहेको थिएँ । धेरै पटक उहाँलाई भन्ने कोसिस गरेँ, तर सकिन । एक दिन अर्जुन सुवेदीले भेट्दै हुनुहुन्छ भन्ने थाहा पाएर उहाँलाई भेटाइदिन आग्रह गरेँ । भेटपछि मेरो सबै कुरा राखेँ, उहाँले मान्नुभयो । म आज तपाईँसामु जसरी बोलिरहेको छु, २०८२ सालमा चलचित्र रिलिज पछि पनि बोल्ने हिम्मत हुने गरी चलचित्र बनाउनेछु,’ शिशिरले भने ।

साइग्रेसले अधुरो प्रेम दर्शकको सम्पत्ति रहेकोले जतनसाथ रक्षा गरिदिन शिशिरलाई आग्रह गरे । साइग्रेस आफ्नो बुलन्द आवाज र कथा वाचनको शैलीमार्फत संसारभर रहेका करोडौँ नेपालीहरू माझ चर्चित छन् ।

शिशिरले दर्जनौँ म्युजिक भिडियोहरू र चलचित्रका गीतमा कोरियोग्राफी गरेका छन् । कार्यकारी निर्माता सुवेदीले यसअघि चलचित्र ‘रङ्गेली’ निर्देशन गरेका थिए । वि.सं. २०८२ मा रिलिज लक्ष्य राखिएको यस चलचित्रमा कलाकार र अन्य टिमको विषयमा भने टुङ्गो लागिसकेको छैन । चलचित्रका निर्माण नियन्त्रक मनोज जोशी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *