गण्डकीका मुख्यमन्त्रीलाई राप्रपाले विश्वासको मत नदिने

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई राप्रपाले विश्वासको मत नदिने भएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले गण्डकीमा आफूहरु तटस्थ बस्ने निर्णय गरेको जानकारी दिए । पार्टीको कार्यसम्पदान समितिको बैठकले नै तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदैछन् । दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने तयारी गरेका हुन् ।

विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भइसकेको जनाइएको छ । मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिन नेकपा एमाले र माओवादीले ह्वीप जारी गरिसकेका छन् । एमाले, माओवादी केन्द्र र राजीव गुरुङ (दीपक मनाङे) को समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र सांसद दीपक मनाङे समेत गरी ३१ जना प्रदेश सभा सदस्य रहेका छन् । नेपाली कांग्रेसका २७ र राप्रपाका २ प्रदेशसभा सदस्य रहेका छन् ।

सभामुख पनि एमालेकै रहेका कारण भने मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा ३० मत मात्रै पाउने सम्भावना देखिएको छ । जसले गर्दा कांग्रेस र राप्रपाको समर्थन नरहेको खण्डमा ६० प्रदेश सभा सदस्यको बहुमत ३१ मत ल्याउने सम्भावना भने कम देखिएको छ ।

तर पूर्व मुख्यमन्त्री सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा सर्वोच्चले गरेको व्याख्याअनुसार ३० सांसदको समर्थन हुँदा बहुमत पुग्ने गठबन्धन नेताहरू दाबी गर्दै आएका छन् । कांग्रेसका नेताहरू भने विश्वासको मत लिँदा बहुमतका लागि ३१ जनाकै समर्थन तर्कमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *