राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस

समृद्ध नेपाल निर्माण गर्ने महाअभियान सुरु : रेखा शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सुशासन र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने महाअभियान थालेको बताएकी छन् ।

बिहीवार काठमाडौंमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले समृद्ध नेपाल निर्माण गर्ने महाअभियानमा सूचना र प्रविधि महत्वपूर्ण आधार बन्ने बताइन् । उनले अबको युग सूचना र प्रविधिको युग भएकाले सूचना र प्रविधिको क्षेत्रमा व्यवस्थित लगानी गरेर वैदेशिक लगानी, सरकारी र निजी क्षेत्रको लगानीलाई पनि प्रोत्साहन गरी आवश्यक नियम कानून पनि व्यवस्थित गरी अघि बढ्न जरुरी रहेको बताइन् ।

उनले सूचना र प्रविधिको प्रयोग बलियो बनाउन देशभर डिजिटल साक्षरता एवं जनचेतना अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताइन् । सूचना र प्रविधिको प्रयोगका कारण नागरिकले घरमै बसेर राज्यले प्रदान गरेका सेवाहरु लिनसक्ने अवस्थाको सिर्जना भइसकेको बताइन् ।

मन्त्री शर्माले पछिल्लो समय सूचना तथा प्रविधि आर्थिक समृद्धिको लागि नविनतम एवं उदीयमान क्षेत्रको रुपमा स्थापित भएको जिकिर गरिन् । निजी क्षेत्रले अहिले पनि सूचना तथा प्रविधि सेवा निर्यातमार्फत वर्षेनी अर्बौं वैदेशिक मुद्रा भित्र्याइरहेको, करिव एक लाख युवाले देशभित्र रहेर विभिन्न देशमा सूचना तथा प्रविधि निर्यात गरिरहेको बताइन् । उनले सूचना, प्रविधि क्षेत्रको व्यवस्थित विकास गर्दै आवश्यक लगानी आकर्षित गर्नसके देशलाई समृद्धितर्फ अघि बढाउन सकिने बताइन् ।

मन्त्री शर्माले सूचना तथा प्रविधि हरेक नागरिकको जीवनशैलीको आधार बन्दै गइरहेकाले राज्यले सूचना तथा प्रविधिलाई आधारभुत आवश्यकता र राष्ट्रिय प्राथमिकताको रुपमा स्वीकार गरेको बताइन् । उनले सूचना तथा प्रविधि क्षेत्रमा भएको विकास र बिस्तारसँगै नेपालमा पनि सूचना प्रविधिको प्रयोगमा उल्लेख्य बढोत्तरी भएको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *