धादिङमा घर जल्दा दम्पतीको ज्यान गयो

काठमाडौं । धादिङको थाक्रे गाउँपालिका-५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ । गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा उनी र उनकी ७० वर्षीया पत्नी ठूली लामाको मृत्यु भएको हो ।

धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीकाअनुसार घरमा भएका अन्नपात र लत्ताकपडा सबै नष्ट भएको छ । ‘राति करिब ११ः३० बजे घरमा आगो लागेको खबर पायौँ,’ उनले भने, ‘हाप्सेचौर अस्थायी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय खानीखोलाको टोली घटनास्थल पुग्दा उहाँहरूको मृत्यु भइसकेको थियो ।’

यसैबीच गोरखामा आगलागीबाट दुईवटा घर र चारवटा गोठ जलेका छन् । गोरखा नगरपालिका-५, स्थित ठूलोरिपमा घर नजिकै जङ्गलमा लागेको डढेलो बस्तीमा पुग्दा स्थानीय पार्वती राना र रुपा रानाको घर जलेका हुन् ।

आगलागीबाट पार्वतीको दुईकोठे र रुपाको दुईकोठे घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका स्प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । सोही ठाउँका पूर्णबहादुर मगरको गोठ पनि जलेको उनले बताए । पालुङटार नगरपालिका-९ चालिसेडाँडामा आगलागीबाट तीनवटा गोठमा क्षति भएको छ । गोठमा बाँधेको एउटा गाई पनि मरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *