सत्ताका लागि प्रचण्ड जे गर्न पनि तयार हुन्छन् : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको आरोप लगाएका छन् ।

१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधवार काठमाडौंको शान्तिवाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

‘प्रचण्डजीलाई मेरो विश्वास थिएन । उहाँ त सत्ताको निम्ति जे पनि गर्नुहुन्छ । तपाई कुर्सीमा बस्ने हो भनिदिएपछि जता पनि बसिदिनु हुन्छ’उनले भने,‘ त्यो मलाई थाहा थियो । तर माओवादी आन्दोलन भित्रका साथीहरु अब हामी नयाँ ढंगले जान्छौं । माओवादी युगको, माओवादी विचारको समय सिद्धियो ।’

अध्यक्ष भट्टराईले कहिले काँग्रेस र एमालेसँग आलोपालो पछि लागेर प्रधानमन्त्री दाहालले सत्ताका लागि मरिहत्ते गरेको बताए ।

उनले माओवादी आन्दोलनमा लागेका पार्टी र व्यक्तिहरुलाई समेटेर नयाँ समाजवादी धुव्रीकरणको अभियान शुरु गर्न आफूले गत निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरेपनि प्रधानमन्त्री दाहालको सत्तामोहका कारण त्यसलाई अघि बढाउन नसकिने जिकिर गरे ।

‘कहिले एमालेको पछि लागेको छ, कहिले काँग्रेसको पछि लागेको छ । प्रचण्डजीले उहाँहरुलाई आफ्नो सत्ता स्वार्थमा निरन्तर घुमाई राख्नुभएको छ’उनले भने,‘त्यस्तो भएको बेलामा माओवादी आन्दोलनमा लागेकाहरुलाई समाजवादतर्फ लैजानका लागि आफूले चुनावमा सहकार्य गरेर जाने नीति लिएको हो ।’

भट्टराईले दाहालको सत्ता मोहले वाक्क भएकाहरुलाई पनि समाजवादी धारमा अघि बढाउन आफूले निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरे पनि सोही पार्टीमा एकीकरण भएर जाने निर्णय भने नगरेको बताए ।

अध्यक्ष भट्टराईले दाहालले निर्वाचन अघि पानीमा भिजेको बिरालो जस्तो भएर गोरखामा चुनाव लड्नका लागि आफूसँग अनुनय विनय गरेपनि जितेपछि शेरजस्तो भएर गर्जिन थालेको भन्दै आक्रोश पनि व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *