प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री साबेर हुसेन चौधरीले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारमा आज भएको उक्त भेटमा उनीहरूबिच विद्युत् व्यापार, जलवायु परिवर्तन एवं द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले नेपाल–बङ्गलादेशबीच हुने विद्युत् व्यापार गर्न आवश्यक पर्ने प्रक्रिया पूरा हुने अवस्थामा रहेको र छिट्टै दुई देशबीच व्यापार सुरु हुने विश्वास व्यक्त गरे । आगामी दिनमा विद्युत् व्यापार क्षेत्रीय स्तरमै सहज रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै उनले त्यसका लागि आवश्यक नियमन एवं भौतिक संरचना तयार हुँदै गएकामा खुसी व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले नेपाल र बङ्गलादेश दुवैले जलवायु परिवर्तनको असर व्यहोर्नुपरेको उल्लेख गर्दै यस्ता साझा मुद्दामा दुवै देशले सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

बङ्गलादेशका मन्त्री चौधरीले नेपाल–बङ्गलादेशबीच ऊर्जा सहकार्य अगाडि बढेको उल्लेख गर्दै ऊर्जा व्यापारबाट दुवै देश लाभ लिन सक्ने अवस्थामा पुगेका बताए । उनले प्रधानमन्त्री दाहाललाई नेपाल–बङ्गलादेशबीच हुने ऊर्जा व्यापारका सबै तयारी पूरा भएको जानकारी गराए ।

मन्त्री चौधरी नेपालले आयोजना गरेको ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ सम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ संवादमा भाग लिन नेपाल आएका हुन् । उक्त भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा रूपक सापकोटा, प्रधानमन्त्रीका जलवायु तथा वातावरण सल्लाहकार डा पपुलर जेन्टलसहित वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *