विकल पौडेलसहित ४ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले पौडेलसहित चार जनालाई दोषी ठहर गरेको हो ।

अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई २ वर्ष कैद र २५ करोड ४७ लाख बिगो भराउने फैसला गरेको हो । विशेष अदालतले बिगो बराबर नै  जरिवाना हुने फैसलामा भनेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी प्रकरणमा अख्तियारले गतवर्ष पौडेलसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । ६९ करोड ८ लाख ८१ हजार रुपैयाँ हिनामिना भएको अख्तियारको दाबी थियो ।

यो प्रकरणमा दोषी ठहर हुनेहरुमा कानिकलतर्फका तत्कालीन सीडीई नवीनकुमार पोखरेल, मेपटेक बिल्डिङ सर्भिसेस प्रालिका भुवन महर्जन र इन्जिनियरिङ मार्केटिङ कन्सर्न कम्पनीका प्रबन्ध निर्देशक रोहितमान प्रधान रहेका छ ।

विशेष अदालतले उनीहरुलाई ६ महिना कैद सजायको फैसला गरेको छ । यस प्रकरणमा अन्य पाँच जनाले भने सफाइ पाएका छन्।

सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानुन मिचेर केही व्यक्ति विशेष वा कम्पनीसँग मिल्ने गरी सुरक्षण प्रेसको सफ्टवेयर तथा उपकरण खरिद गरेको निष्कर्षसहित उनीहरूविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेका थियो ।

उक्त प्रकरणमा पौडेलसहितका व्यक्तिहरूको मिलेमतोमा कानुन विपरीत कार्यगरी सरकारको सम्पत्ति हानी–नोक्सानी पुर्‍याएको अख्तियारको दाबी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *