म प्रधानमन्त्री बन्छु की भनेर केहीलाई पोल्ने गरेको छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै आफू प्रधानमन्त्री बन्छ भनेर पोल्ने प्रवृत्तिलाई हामीले धिक्कार छ भन्न चाहेको पनि बताए ।

‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थाल्या छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पनि पोल्न थाल्या छ’उनले भने,‘पोल्ने मानिसहरु पनि छन यो समाजमा । तिनलाई पोले पोलोस । दन्दनी आगोले पोलिरहोस् त्यस्ता प्रवृत्ति बोक्नेहरुलाई धिक्कार छ म भन्न चाहन्छु ।’

पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी) ले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जसले जे भने पनि आफूहरुका लागि अनुकुल वातावरण बनाउने कुरामा ध्यान दिने बताए ।

मुलुकमा गणतन्त्र ल्याउनका लागि, शान्ति प्रक्रियालाई अघि बढाउनका लागि, जनतालाई न्याय दिलाउन र महिलाहरुको अधिकारलाई दिलाउनका लागि महत्वपूर्ण भुमिका आफूले खेलेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यस अनुकूलको वातावरण बनाउन पछि नपर्ने बताए ।

उनले आफ्नो पार्टी प्रधानमन्त्री र मन्त्री बन्न भन्दा पनि देश र जनताको हितमा समर्मित भएर काम गर्न लागि परेको दाबी गरे ।

‘परिस्थितिलाई हामीले आफ्नो अनुकुल बनाउने कुरामा हाम्रो ध्यान जानुपर्छ । हामी समाजलाई बदल्नका लागि, रुपान्तरण गर्नका लागि आजसम्म काम गर्दै, भुमिका खेल्दै आएका छौं । हिजो पनि गणतन्त्र ल्याउनका लागि भुमिका खेल्यौं’उनले भने, ‘शान्ति प्रक्रियालाई अघि बढाउन भुमिका खेल्यौं । मुलुकमा निरंकुश शासन ढाल्नका लागि पनि महत्वपूर्ण भुमिका खेल्यौं । जनतालाई न्याय दिलाउनका लागि पनि महत्वपूर्ण भूमिका खेल्यौं । महिला अधिकारका लागि पनि भुमिका खेल्यौं ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीका नेता सहभागी भएको मन्त्रीले राम्रो काम गर्ने गरेको जिकिर पनि गरे ।

अध्यक्ष नेपालले ओलीले संविधान सभा विघटन गर्ने काममा गल्ती गरेँ भनेर स्वीकार गर्ने आँट अझै नगरेको भन्दै आलोचना पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *