नेपालले जलश्रोतको प्रचुर सम्भावनालाई यथोचित सदुपयोग गर्न सकेन : उर्जामन्त्री

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले जलश्रोतको प्रचुर सम्भावनालाई यथोचित सदुपयोग गर्न नसकेको बताएका छन् ।

बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आयोजनामा काठमाडौंमा सुरु भएको चौथो संस्करणको हिमालय हाइड्रो एक्स्पोको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले नेपालसँग करिब ३२ सय प्लस मेगावाट उत्पादन क्षमता रहेको रहेको र अबको तीन महिनाभित्र थप तीन सय मेगावाट उत्पादन हुने बताए । उनले आगामी १२ वर्ष भित्रमा २८ हजार ७ सय मेगावाट उत्पादनको लक्ष्यसहितको विद्युत् विकासको रोडम्याप र एक्सन प्लान तयार पारेको पनि बताए । उनले वन क्षेत्र, जग्गा प्राप्तिका सवालहरू कायम रहेको भन्दै नेपाल ऐन संशोधनमार्फत सम्बोधन गर्नेगरी सरकारले प्रक्रिया अघि बढाएको बताए ।

उनले सरकारले आगामी लगानी सम्मेलनलाई समेत दृष्टिकोण गरी केही नेपाल ऐन, संशोधनमार्फत कानुनीहरूको नीतिगत सुधारका काम अघि बढाएको बताए । उनले यसले लगानीमैत्री वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे । उनले नेपालको आर्थिक समृद्धिको निम्ति जलश्रोत र जलविद्युतको क्षेत्र निकै महत्वपूर्ण रहेको बताए ।

उनले भने ‘हामीले यो भन्नैपर्छ जलश्रोतको यो सम्भावनाको प्रचुरता जे जस्तो छ, त्यसको यथोचित सदुपयोग गर्न हामीले सकिरहेका छैनौँ । आजका दिनसम्म आइपुग्दा हामीसँग करिब ३२ सय प्लस मेगावाट उत्पादन क्षमता रहेको छ । यहाँसम्म आइपुग्दा यही आर्थिक वर्ष भित्रमा अरु दुई, तीन सय मेगावाट हामी थप गर्दछौँ । हामीले आगामी १२ वर्ष भित्रमा २८ हजार ७ सय मेगावाट उत्पादनको लक्ष्यसहितको एउटा विद्युत् विकासको रोडम्याप र एक्सन प्लान तयार गरेका छौँ । आगामी १२ वर्षभित्रमा २८ हजार ७ सय झट्ट हेर्दा महत्वकाँक्षी देखिन्छ तर हामीले यसको तथ्यमा आधारित रहेर समग्र पक्षको विश्लेषण गरेर नै यो तयार गरेका छौँ । हामीसँग वन क्षेत्र उपलब्ध गर्ने सवालहरू छन्, जग्गा प्राप्तिका सवालहरू छन्, कानुनी समस्याहरू छन्, नेपाल ऐन संशोधनमार्फत सम्बोधन गर्नेगरी सरकारले प्रक्रिया अघि बढाएको छ । सरकारले आगामी लगानी सम्मेलनलाई समेत दृष्टिकोण गरी केही नेपाल ऐन, संशोधनमार्फत कानुनीहरूको नीतिगत सुधारका काम अघि बढाएका छौँ । यसले लगानीमैत्री वातावरण निर्माण गर्नेछ । नेपालको आर्थिक समृद्धिको निम्ति जलश्रोत र जलविद्युतको क्षेत्र निकै महत्वपूर्ण छ । यो भाइब्रेण्ट र प्रोटेन्सियल क्षेत्रलाई थप प्रज्वलित गर्नका लागि र क्रियाशील सबै अभियन्ताहरूलाई उत्साहित गर्न राष्ट्रपतिज्यूको उपस्थिति झनै महत्वपूर्ण हुनेछ । यहाँ लगानीमैत्री वातावरण छ र हुन्छ ।’

कार्यक्रममा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले देशमा अधिकांश क्षेत्रमा आर्थिक गतिविधि ठप्प भइरहेको अवस्थामा अर्थतन्त्रलाई गति दिने र आर्थिक वृद्धिमा सहयोग गर्ने एक मुख्य क्षेत्र ऊर्जा रहेको बताए । उनले जलविद्युत लगायतका ऊर्जा आयोजनाको नियमित निर्माणले ऊर्जा आयोजनामा सामान आपूर्ति गर्ने विभिन्न क्षेत्रका दर्जनौँ व्यवसायहरूको जीवनयापन भएको जिकिर गरे ।

उनले ऊर्जा आयोजना निर्माणको चरणमा पाँच लाख भन्दा धेरै दक्ष, अर्धदक्ष र अदक्ष कामदारहरूले रोजगारी पाएको पनि बताए । उनले जलविद्युत आयोजना निर्माण भएका ठाउँमा आयोजनाका तर्फबाट हजारौँ किलोमिटर सडक सञ्जाल बिस्तार हुनका साथै हरेक गाउँमा खानेपानी, स्वास्थ्य, शिक्षा तथा ठूलो लगानी भएको बताए ।

अध्यक्ष कार्कीले वन, भूमि, स्थानीय स्तरमा आउने समस्याहरूको समाधानका लागि सरकारले अझ बढाए उदार हुन आवश्यक रहेको बताए । उनले विश्वको ध्यान हरित ऊर्जा उत्पादन र उपयोगमा केन्द्रित रहेको भन्दै नेपालमा स्वच्छ ऊर्जाको रुपमा १ लाख २० हजार मेगावाट जलविद्युत उत्पादन गर्ने क्षमता रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *