आर्थिक समृद्धि ल्याउनेगरि योजना बनाऔँ : डा.खतिवडा

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका नेता डा. युवराज खतिवडाले आर्थिक समृद्धिका आधारभूत तत्त्वहरूलाई पहिलो प्राथमिकतामा राखेर १६ औं पञ्चवर्षीय योजना बनाउनुपर्ने सुझाव दिएका छन् ।

बिहीबार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भ्रष्टाचार न्युनिकरणलाई पहिलो प्राथमिकतामा दिनुले विश्वमा गलत सन्देश जाने भन्दै सुशासनका कुराहरूलाई जोड दिन र आर्थिक समृद्धिका कुरामा बढी आवश्यक रहेको बताए ।

उनले निरन्तर ५ प्रतिशत भन्दा माथि १० वर्ष हासिल गर्ने हो भने गरिबी १० प्रतिशत घट्ने दाबी गरे । कम लगानीबाट बढी प्रतिफल लिने बाटोमा जानेकुरामा ध्यान दिन आवश्यक रहेको पनि बताए ।

उनले संविधानमा लेखिएको समाजवाद उन्मुख राज्यप्रणाली निर्माणको आधार तयार गर्नेकुरा योजनामा समावेश गर्न केले रोकेको हो ? भन्दै प्रश्न गरे । उनले सबैको एजेण्डालाई समावेश नगर्दा बजेटमा पहिलो चरणमा विरोध गर्नुपर्ने स्थिति सिर्जना हुने बताए ।

उनले समृद्ध नेपाल, सुखी नेपाली हामी सबैको साझा एजेण्डा भएको पनि बताए । उनले बजेटमा समाजवाद उन्मुख राज्य प्रणाली भनेर लेख्ने तर पञ्चवर्षीय योजनामा चर्चा नै नगर्ने हो भने पहिलो चरणमा नै योजना भन्दा फरक बजेट बन्ने बताए । उनले संविधानले आत्मसाथ गरेका विषयहरू, त्यहाँ भित्रका मौलिक हक, राज्यका सिद्धान्तहरूलाई राम्रो र खुलेर समावेश गरेर जानुपर्ने बताए ।

उनले भने ‘वार्षिक बजेट एक वर्षको बन्छ, त्यसलाई आवधिकमा दोहो¥याउनुपर्छ, पाँच वर्षको लागि सुनिश्चित गर्नुपर्छ विकासका रणनीति, उद्देश्य कार्यक्रम भनेर नै यो १६ औं योजना बनाएको हो । भोलि बजेट लेखौँला हामीले समाजवादउन्मुख राज्य प्रणाली निर्माण गर्ने भनेर योजनामा त्यसको कुनै लामो चर्चै गरेनौँ, समाजवादको आधार तयार गर्ने चर्चा नै गरेनौँ भने त बजेट त पहिलो स्टेपमै योजना भन्दा फरक हुन्छ त । यदि त्यो लेखिएन भने बजेटको आलोचना त हामीले पनि गर्नुपर्ने हुन्छ । त्यसो भएकाले यस्ता कुराहरू हाम्रो संविधानले आत्मसाथ गरेका विषयहरूलाई, त्यहाँ भित्रका मौलिक हक, राज्यका सिद्धान्तहरूलाई राम्रो र खुलेर समावेश गरेर जाऔँ ।’

पूर्वअर्थमन्त्री डा.खतिवडाले देशको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार रहेको तर भ्रष्टाचार नै निमुर्ल गर्नेकुरा योजनाको पहिलो प्राथमिकतामा राख्नुले विश्वमा गलत सन्देश जाने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *