कतारका राजाको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा वैशाख ११  गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले कतारका राजा अमिरले मङ्गलवारबाट गर्ने नेपाल भ्रमणको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सञ्चारकर्मीहरूसँग बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने निर्णय गरेको बताइन् ।

उनले विपद्बाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रवर्द्धन प्रबलीकरण, पुनः स्थापना तथा पुनः निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको नियमावली संशोधन गर्ने निर्णय भएको बताइन् । त्यस्तै सरकारले अर्थसचिवमा मधुकुमार मरासिनीलाई सरुवा गरेको छ ।

उनले भनिन् ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिज्यूसमक्ष पेस गर्ने । राष्ट्रपतिसमक्ष यो अध्यादेश पेस भइसकेपछि यो जारी हुनेछ ।

विपद्बाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रवर्द्धन प्रबलीकरण, पुनः स्थापना तथा पुनः निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको नियमावली संशोधन गर्ने । खासगरी पश्चिमको दुई वटा जिल्लामा भूकम्पको क्षति भयो र बझाङसहित पनि ती जिल्लाहरूलाई केन्द्रीकृत गरेर निर्णय गरिएको हो ।

कतारका राजा अमिरले भोलिदेखि नेपाल भ्रमण गर्दै हुनुहुन्छ, सो अवसरमा राजकीय भ्रमणको अवसरमा वैशाख ११ गते सार्वजनिक बिदा दिने ।

अर्थसचिवमा मधुकुमार मरासिनी अदालतबाट सफाइ पाएर आउनुभएको छ, उहाँलाई अर्थ सचिवको रुपमा सरुवा गर्ने ।’

कतारका राजाको भ्रमणमा विभिन्न सम्झौताहरू हुने पनि बताइन् । उनले पर्यटनसम्बन्धित सम्झौता, विभिन्न मन्त्रालय अन्तर्गतका, खेलकुद, सञ्चार अन्तर्गतका सम्झौताहरू हुने पनि बताइन् । कतारका राजासँग नेपाललाई फाइदा हुने ढंगले सम्झौताहरू हुने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *