कम्युनिष्टहरुको पुनः वाम एकता हुने प्रचण्डको संकेत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टहरुको पुनः वाम एकता हुने संकेत गरेका छन् । नेकपा एमालेको पार्टीक केन्द्रिय कार्यालय च्यासलमा भएको नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रिय सभालाई सम्बोधन गर्दै उनले यस्तो संकेत गरेका हुन् ।

उनले भनेका छन् :-

‘नरबहादुर कर्मचार्यले कम्युनिष्टहरु एक ठाउँमा हुनुपर्छ भन्नुभएको थियो । हामी कम्युनिष्टहरु एकतावद्ध हुँदै पनि गयौँ । सायद नरबहादुर कर्मचार्य जस्ता पुराना पिढीका निष्ठावान नेताकै कारण हामीले पनि कम्युनिष्टहरुलाई एकतावद्ध गर्नु नै अबको देशको, गणतन्त्रको, राजनीतिक संघर्षको निम्ति आवश्यकता छ भन्ने चेतना प्राप्त भयो । त्यही चेतनाको बलमा हामीले प्रयोग पनि गरेकै हो । ०७४ को चुनावमा जे प्रयोग हामीले ग¥यौँ । त्यो एकताको प्रयोग थियो र त्यसलाई जनता र आम नेता, कार्यकर्ताले अनुमोदन गरेको पनि हो । विभिन्न कारणले त्यसलाई बचाउन सकेनौँ । तर एक पटक असम्भव भयो भन्दैमा सही कामको निम्ति हामीले प्रयासलाई छोड्न हुँदैन । हामी निरन्तर प्रयास गरि नै राख्नुपर्छ । त्यसकारण अहिले पनि हामी कहीँ न कहीँ राष्ट्रिय स्वाधिनताको विषय, त्यसको सुदृढिकरण, लोकतन्त्रको सुदृढिकरण र जनताका दैनिक समस्या समाधानका निम्ति पनि समाजवादको विकल्प छैन । समाजवाद नै अबको क्रान्तिको बाटो हो । कुनै न कुनै रुपले सहकार्य र कुनै न कुनै रुपले एकतामा जान आवश्यक छ । अहिले धेरै जोखिम र चुनौति भएपनि हामी कमरेड माधवजीले म तिर हेरेर प्रधानमन्त्रीज्युले नै भन्नुहोला भन्नुभयो । म के भन्छु भने चुनौतिको सामना र जोखिमहरु उठाउँदै अघि बढ्ने कम्युनिष्ट आन्दोलन र वर्ग संघर्षको नियम नै हो । जोखिम छन् तर राष्ट्रिय एकताको निम्ति जोखिम उठाउन, राष्ट्रिय स्वाधिनता, वामपन्थी एकताको निम्ति जोखिम उठाउनु, कम्युनिष्ट आन्दोलनको राम्रो भविष्यको निम्ति जोखिम उठाउनु राम्रो हो । त्यसमा हामी सबैले साथ र सहयोग गर्नुपर्छ ।’

प्रधानमन्त्रीले मानव जाति जतिसुकै विकसित भएपनि जलवायु परिवर्तनको कारणले यदी प्रकृृति, समाज र मानव चिन्तन भन्दा बाहिर गएर गतिविधि गर्न थाले प्रकृतिले जवाफ दिने बताए । उनले युएईमा हालै भएको डुबानको उदाहरण दिँदै प्रकृतिको दोहन गर्दाको परिणाम राम्रो नहुने बताए । जलवायु परिवर्तनका विषयलाई पनि कम्युनिष्टहरुले अध्ययन, अनुसन्धान र विश्लेषणको विषय बनाउन जरुरी रहेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *