सत्ता सहकार्यलाई कमजोर पार्ने काम नगर्न सत्तारुढ दलहरूलाई एमालेको आग्रह

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले सत्ता सहकार्यलाई कमजोर पार्ने कुनैपनि काम नगर्न सत्तारुढ दलहरूलाई आग्रह गरेको छ ।

आइतबार ललितपुरको सनराईज हलमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक समापन समारोहमा १५ बुँदै समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सो आग्रह गरेको हो । मुलुकलाई थप अस्थिरता र अन्यौलतातर्फ धकेल्ने कामप्रति सजग रहन र राष्ट्रियता, लोकतन्त्र र जनताको हितलाई थप जोखिममा पार्ने कतैबाट पनि हुन नदिन सत्ता समीकरणका सबै राजनीतिक दलहरूलाई आह्वान गर्ने प्रस्ताव बैठकले पारित गरेको पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

एमालेले आफनो पार्टीसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी) का बीचमा नयाँ सत्तासमिकरण निर्माण गर्ने समझदारी गर्दै नयाँ सत्ता सहकार्य आरम्भ भएकोमा सन्तोष व्यक्त गर्दै त्यस सहकार्यलाई सफल, परिणाममुखी र दिगो बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ । त्यसैगरी ५ दलले जारी गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पमार्फत आजको मुख्य समस्याहरूलाई समाधान गर्नेगरी तालिकाबद्ध रुपमा काम गर्न सरकारलाई पनि सुझाव दिइएको उपमहासचिव रिमालले बताए ।

विभाजन, घेराबन्दी, सत्ताको दुरुपयोग, मिथ्या प्रचारको बाढीलाई चिर्दै हाम्रो पार्टी राष्ट्रिय राजनीतिको मुख्य संवाहक र प्रमुख पार्टीको रुपमा स्थापित हुन सकेको निष्कर्षका साथ पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने संकल्प पनि एमालेले गरेको छ । अत्यन्त असहज र प्रतिकुल अवस्थामा पार्टीलाई यस बिन्दुसम्म ल्याई पुर्याउन कुशलतापूर्वक अगुवाइ गर्ने कमरेड अध्यक्ष केपी शर्मा ओलीलगायत १० औं महाधिवेशनबाट निर्वाचित सिंगो नेतृत्व पङ्क्तिलाई बैठकले विशेष धन्यवाद ज्ञापन गरेको उपमहासचिव रिमालले बताए ।

उनले भने ‘यो बैठक विभाजन, घेराबन्दी, सत्ताको दुरुपयोग, मिथ्या प्रचारको बाढीलाई चिर्दै हाम्रो पार्टी राष्ट्रिय राजनीतिको मुख्य संवाहक र प्रमुख पार्टीको रुपमा स्थापित हुन सकेको निष्कर्षका साथ पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने संकल्प गर्दछ । अत्यन्त असहज र प्रतिकूल अवस्थामा पार्टीलाई यस विन्दुसम्म ल्याई पुर्याउन कुशलतापूर्वक अगुवाइ गर्ने कमरेड अध्यक्ष केपी शर्मा ओलीलगायत १० औं महाधिवेशनबाट निर्वाचित सिंगो नेतृत्व पङ्क्तिलाई यो बैठक विशेष धन्यवाद ज्ञापन गर्दछ । आगामी दिनमा पार्टीलाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रुपमा अझ एकताबद्ध र सुदृढ बनाई निर्णायक राष्ट्र शक्तिको रुपमा सबै कमरेडहरूलाई हार्दिक आह्वान गर्दछ ।’

सो बैठकले आगामी दिनमा पार्टीलाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रुपमा अझ एकताबद्ध र सुदृढ बनाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्न सिंगो पार्टी पङ्क्तिलाई आह्वान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *