महिला सांसदहरुलाई हतोत्साहि नगरौँ : उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले महिला सांसदहरूलाई हतोत्साहित गर्नु नहुने बताएकी छन् ।

आइतबार आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरूसँग भेटघाट गर्दै उपाध्यक्ष घिमिरेले महिला सांसदहरूले बोलेको कुरालाई लिएर विभिन्न टिकाटिप्पणी हुने गरेको भन्दै उनीहरूलाई अत्याउने र हतोत्साहित गर्नु नहुने बताएकी हुन् । उनले महिला सांसदहरूले संसदमा बोलेको कुरालाई लिएर ०६४ सालको संविधान सभादेखि नै टिका टिप्पणी गरिने गरेको बताइन् ।

उनले महिला सांसदहरूको क्षमतामाथि समेत प्रश्न उठाइने गरेको भन्दै त्यसो गर्नु नहुने बताइन् । उनले संविधानले महिलाहरूलाई दिएको अधिकारको प्रयोग गरेर सांसद भएकाहरूलाई अनावश्यक टिकाटिप्पणी गर्नु नहुने बताइन् । उनले विगतका राजनीतिक आन्दोलनमा सक्रिय भुमिका खेलेका महिलाहरूलाई सांसद बनाउँदा उनीहरूमा बोल्ने कलाको विकास नहुनु स्वाभाविक भएको भन्दै त्यसलाई स्वाभाविक रुपमा लिनुपर्ने बताइन् ।

उपाध्यक्ष घिमिरेले व्यक्तिको बोल्ने तरिका फरक–फरक हुने गरेको भन्दै सांसदहरूले जुन तरिकामा भएपनि आफ्नो भावना व्यक्त गर्ने गरेका बताइन् । उनले सांसदहरूको भावनालाई लिपिबद्ध गर्ने व्यवस्था रहेको भन्दै कतिपय महिला सांसदहरूले बोलेको कुरालाई भावमा बुझ्नुपर्ने बताइन् ।

उनले महिला सांसदहरूको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिइन् । उनले पहिले पहुँच दिएर मात्रै क्षमता अभिवृद्धिको कुरा गर्नुपर्नेमा जोड दिइन् । उनले महिला हुनासाथ क्षमताविहीन र पुरुष हुनासाथ क्षमता भएको नहुने भन्दै ती कुराहरू परिस्थिति अनुरूप हुने बताइन् ।

उनले भनिन् ‘कहिलेकाहीँ महिलाहरूले भनेको कुराहरूलाई भावमा बुझौँ । शब्द शब्दमा खेलेर उहाँहरूलाई अत्याउने, हतोत्साहित गर्नेखालको कुरा नगरौँ भन्ने मेरो आग्रह छ ।’

उपाध्यक्ष घिमिरेले उपसभामुख, राष्ट्रिय सभा उपाध्यक्ष तथा स्थानीय तहको उपप्रमुखको पद महिलाहरूकै लागि हो भन्ने मानसिकता बनेको भन्दै त्यसलाई चिर्नुपर्ने बताइन् । उनले राष्ट्रिय सभा उपाध्यक्षको आफ्नै अधिकारहरू रहेको भन्दै सो पद अध्यक्षको छायाँको रुपमा नरहेको बताइन् ।

उनले उपाध्यक्षको अधिकारलाई बढाएर सो पदमा पुरुषहरू पनि आकर्षित हुने अवस्था बनाउनुपर्ने बताइन् । उनले समाजमा पुरुषप्रधान मानसिकता रहको भन्दै त्यस्तो प्रकारको विचारकै पुनः संरचना गर्नुपर्ने बताइन् ।

उनले भनिन् ‘ म उपाध्यक्ष भइरहँदा मैले पुरुष अध्यक्ष छ भन्दैमा अध्यक्षको अधिकार सबै मलाई चाहिन्छ भन्न थालेँ भने त विवाद हुन्छ । भोलि त्यही अध्यक्षको पदमा महिला गयो भने के गर्ने त ? नकारात्मक रुपमा पनि हेर्नुहुन्न यसलाई । ’

उनले राष्ट्रिय सभा उपाध्यक्षको रुपमा आफूले प्रभावकारी भुमिका खेल्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *