एमाले महाधिवेशन प्रतिनिधि परिषद बैठक आज पनि

काठमाडौं । सत्तारुढ नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज पनि जारी रहनेछ । वैशाख १० गतेसम्म सञ्चालन हुने उक्त परिषद बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी रहनेछ ।

बैठकमा २,४५४ जना सहभागी भएको एमालेले जनाएको छ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् । बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गरेका छन ।

नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज पेस भएका प्रतिवेदनउपर समूहगत छलफल हुने भएको छ । प्रतिवेदनलाई आजै पारित गरेर बैठक समापन गरिने कार्यसूची समेत रहेको छ । पार्टीले हिजोको बैठकमा आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रूपान्तरणका लागि चाल्नुपर्ने कदमबारे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग सुझाव मागेको थियो।

तत्कालीन महासचिव मदन भण्डारीद्वारा प्रस्तुत ‘जनताको बहुदलीय जनवाद’लाई सिद्धान्तका रूपमा अङ्गीकार गर्दै आएको एमालेले उक्त लक्ष्य पूरा गर्न वर्तमान सरकारलाई दिगो, परिणाममुखी र सफल तुल्याउँदै अर्थतन्त्रलाई चलायमान बनाउने, सहकारपीडितलाई न्याय दिने, सार्वजनिक सेवालाई प्रभावकारी बनाई सुशासन कायम गर्ने, सङ्घीयता कार्यान्वयनका जटिलता फुकाउने सवालमा नीतिगत प्राथमिकता र चासो दिएको छ ।

एमालेले भ्रष्टाचार र बेइमानीपूर्ण कार्य गर्नेलाई कारबाही गर्ने, मुलुकमा जबाफदेहिता सुनिश्चित गर्ने, कृषिको औद्योगिकीकरण र स्वदेशी उत्पादनका साथै यातायात, सञ्चार र पूर्वाधार विकासमा जोड दिने, विद्युत् उत्पादन र खपत बढाउने जस्ता १३ नीतिगत प्राथमिकता निर्धारण गरेको छ ।

यस्तै प्राविधिक शिक्षाको विस्तार र लैङ्गिक समानता कायम, शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्ने र वैदेशिक सम्बन्धलाई राष्ट्रिय स्वाधीनताका आधारमा सुदृढ बनाउन एमालेको जोड रहेको छ । ती विषयमा एमाले नेतृत्वले महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग समूहगत छलफलबाट सारभूत र रणनीतिक सुझाव मागेको छ । आज समूहगत छलफल र पारित हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *