एमालेले हीरक महोत्सव मनाउने, विशेष वक्ता दाहाल–देउवा

काठमाडौं । नेकपा (एमाले) ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना दिवसको हीरक महोत्वस मनाउने भएको छ ।

शुक्रवार पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गरी एमालेले नेकपा स्थापना दिवसको ७५ वर्ष पूरा गरेको अवसर पारेर सो महोत्सवको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने जानकारी गराएको हो ।

गोदावरीको सनराईज हलमा आयोजना हुने सो विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विशेष अतिथिको रुपमा सहभागी हुने एमालेका महासचिव शंकर पोखरेलले बताए ।

‘१० गतेका दिन हामी चाहीँ पार्टी स्थापनाको ७५ औं वर्ष, जसलाई हामी हीरक महोत्सवको रुपमा आयोजना गरिराखेका छौँ’उनले भने, ‘त्यो समारोहमा हामीले नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विपक्ष दलका नेता शेरबहादुर देउवाजीलाई विशेष वक्ताको रुपमा आमन्त्रित गरेका छौं ।’

सो समारोहमा एमालेले भने पार्टीको तर्फबाट नेपालको कम्युनिष्ट आन्दोलनको ७५ वर्षको विभिन्न आरोहअवरोह समावेश गरिएको भिडियो डकुमेण्ट्री प्रश्तुत गर्नेछ ।

महासचिव पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनको विकास र समृद्धिको सन्दर्भसहितको पार्टीको भावी कार्यक्रमबारे पनि एमालेले सो विशेष समारोहमा आफ्नो दृष्टिकोणहरु राख्ने बताए ।

त्यसैगरी एमालेले सोही हलमा वैशाख ८ र ९ गते (भोलि र पर्सी) पार्टीका महाधिवेशन प्रतिनिधि परिषद् बैठक पनि बोलाएको छ ।

‘हामीले हाम्रो पार्टीको तर्फबाट चाहीँ ७५ वर्षमा कम्युनिष्ट आन्दोलनको चाहीँ आरोह–अवरोध झल्किने खालको भिडियो डकुमेण्ट्री प्रश्तुत गर्ने काम गर्नेछौं’उनले भने, ‘भविष्यमा हामी कसरी अगाडि बढ्दछौं भन्ने कुराको सन्देश पनि हामी त्यसको माध्यमबाट कम्युनिष्ट आन्दोलनको विकास र समृद्धिको सन्दर्भका बारेमा हाम्रा दृष्टिकोणहरु त्यो हीरक महोत्सवको अवसरमा प्रश्तुत गर्ने कुरा म तपाईहरुको बीचमा राख्न चाहन्छु ।’

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा केन्द्रिय सदस्यसहित २४५४ जना प्रतिनिधिहरु सहभागी हुनेछन् ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन प्रश्तुत गर्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *