प्रचण्ड सरकारलाई निरन्तरता दिन एमाले तयार छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले तयार रहेको बताएका छन् ।

मुलुकलाई आरालो यात्राबाट सुरक्षित भविष्यतर्फ डोहो¥याउने कुरा नै एमालेको प्राथमिकताको विषय भएकाले राम्रो काम गर्दासम्म वर्तमान सरकारलाई नै निरन्तरता दिन एमाले तयार रहेकोे महासचिव पोखरेलको स्पष्टिकरण थियो ।

‘हामी सत्ताका लागि लालायित छैनौं । पहिला पनि हामी सत्ता हाम्रो लागि प्राथमिकता होइन । मुलुकलाई सही बाटोमा डोहोर्‍याउने खालको कुरा प्राथमिकताको विषय हो भनेका थियौं’ उनले भने,‘अहिले पनि हामी नयाँ सत्ता समिकरण गर्दाखेरी पनि फलानो महत्वपूर्ण मन्त्रालय चाहिन्छ भनेर हामीले दाबी गरेनौं ।’

उनले आलोपालो प्रधानमन्त्री भन्ने कुरामा नभई आफ्नो पार्टी राष्ट्र र जनताको भविष्यप्रति चिन्तित रहेको र त्यसैमा जोड दिएर अघि बढ्ने नीतिगत दृष्टिकोण बनाएको दोहा¥याए ।

शुक्रवार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा महासचिव पोखरेलले एमालेमा सत्ताका लाागि लालयित नभएको जिकिर गर्दै मुलुकलाई सही बाटोमा डोहोर्‍याउने संकल्पका साथ नयाँ सत्तासमिकरण बनाएको उल्लेख गरे ।

‘हामी यो सरकारले राम्रो काम गर्छ भने हामी यसलाई निरन्तरता दिन तयार छौ भनेर भनिराखेका छौं’उनले भने, ‘किनकी हाम्रो चिन्ता मुलुकप्रति हो, जनताप्रति हो । राष्ट्रको भविष्यप्रति हो भन्ने कुरा हामीले स्पष्ट रुपमा भन्दै आएका छौं ।’

उनले मुलुकमा लोकतन्त्र र परिवर्तनमाथि संकट आईपरे एमालेले काँग्रेससँग पनि मिलेर काम गर्ने मान्यता राखेको बताए ।

महासचिव पोखरेलले राष्ट्रको भविष्यलाई ध्यानमा राखेर एमालेले नयाँ सत्तासमिकरण बन्दा पनि महत्वपूर्ण मन्त्रालय लिने कुरामा अडान नराखेको बताए ।

‘काँग्रेससँग त हामीले स्वभाविक रुपले जतिबेला मुलुकमा लोकतन्त्रमाथि संकट आउँछ, जतिबेला परिवर्तनमाथि संकट आउँछ’उनले भने,‘त्यतिबेला मिलेर काम गर्नुपर्दछ भन्ने मान्यता राख्दै आएका छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *