पुरातनखालका नियमहरूले फास्टट्रयाक बन्दैन्, संशोधन गर्नुपर्छ : रक्षामन्त्री उप्रेती

काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले फास्ट ट्रयाक निर्माणमा अवरोध गर्ने नियमहरूलाई संशोधन गर्नुपर्ने बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै रक्षामन्त्री उप्रेतीले पुराना नियमहरूको आधारमा काम गरेर फास्ट ट्रयाक बन्न नसक्ने बताएका हुन् ।

उनले पुराना नियमहरूलाई संशोधन गरेर अगाडी बढ्नुपर्ने बताए । उनले समयमै फास्ट ट्रयाक निर्माण सम्पन्न गर्नका लागि सरोकारवाला मन्त्रालयहरूले आवश्यकता अनुसार सुधार गर्नुपर्ने बताए । उनले फास्ट ट्रयाक निर्माणको काम आफ्नो प्राथमिकतामा रहेको बताए ।

उनले अबको दुई, तीन महिनामा सुरुङमार्गहरुको ब्रेक थ्रु हुने बताए । मन्त्री उप्रेतीले नेपाली सेनाले गरेको काम हेरेर आफूलाई नेपाली सेनाले आधुनिक नेपाल निर्माण गर्छ भन्ने कुराको उत्साह जागेको पनि बताए । उनले सेनाको जनशक्ति र उपकरणको उपलब्धताको तुलनामा सडकमा न्यून बजेट विनियोजन हुँदा सेनाले आफ्नो क्षमताको पूर्ण सदुपयोग गर्न नसकेको बताए ।

उनले भने ‘खुट्टा बाँधेरै दौडी भन्न त मिल्दैन नि । ती पुरातनखालका नियमहरू, २००७ सालतिर बनेका नियमहरूले अहिले फास्टट्रयाक बन्न सक्दैन । त्यसलाई संशोधन गर्न जरुरी छ । जुन–जुन मन्त्रालय अन्तर्गत भएपनि त्यो हामीले सुधार गर्नुपर्ने हुन्छ । ‘

मन्त्री उप्रेतीले नेपाली सेनालाई आत्मनिर्भर हुन नदिन र कमजोर बनाउन सेनाले गरिरहेको कामहरूको सन्दर्भमा प्रोपोगान्डा सिर्जना गर्ने गरिएको भन्दै यसप्रति सबै सचेत हुनुपर्ने बताए । उनले नेपाली सेनालाई स्खलित गर्नका लागि सुनियोजित हल्ला चलाइने गरेको भन्दै त्यस्ता हल्लाहरूबाट बच्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *