कांग्रेस भन्छ– ‘वर्तमान सत्ता गठबन्धन छिटै पतन हुन्छ’

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुने बताएका छन् ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले अहिलेको गठबन्धनलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिए ।

उनले गठबन्धनमा रहेका दलहरुबीच अविश्वास रहेको कुरा प्रदेश सरकार गठनका क्रममा भएका घटनाक्रमहरुबाट स्पष्ट हुने बताए ।

‘अहिले जुन गठबन्धन बनेको छ, यो अप्राकृतिक किसिमबाट बिनेको छ । त्यहाँ एक अर्काप्रति विश्वास छैन । यो शुद्ध अवसर छोप्नका लागि बनेको गठबन्धन हो’उनले भने, ‘त्यसैले आफ्नै बोझ, अविश्वास, बिरोधाभाषको बीचमा यो गठबन्धन बनेको छ । त्यही बोझले नै यसको पतन हुन्छ । छोटै समयमा पतन हुने निश्चित छ ।’

उनले वर्तमान सत्ता गठबन्धनमा विश्वासको रत्तिभर अंश नरहेको जिकिर गरे । उनले नयाँ सत्ता समीकरण अवसरवादी रहेको बताए ।

उनले नयाँ समीकरण पतन भइसकेपछि कसरी जाने भन्नेमा नेपाली काँग्रेस सचेत र सजग रहेको बताए ।

‘यसमा हामीले धेरै चलखेल गरिरहनुपर्ने आवश्यकता छैन । पतन भइसकेपछि कसरी जाने भन्नेमा हामी अलर्ट छँदैछौँ । सचेत छौँ’ उनले थपे,‘केन्द्रको गठबन्धन बनाउने बारेमा केही कुराकानी भएको छैन, प्रदेशमा भयो होला ।’

प्रवक्ता महतले पछिल्लो समीकरणको सरकार बनेपछि नागरिकमा निराशा छाएको र सरकारप्रतिको भरोसा घटेको बताए ।

अर्थतन्त्र लयमा जाने र लगानीको वातावरण बन्नेमा विश्वास घटिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *