स्वास्थ्य उपकरणहरू मुलुकभित्रै उत्पादन जरुरी : स्वास्थ्यमन्त्री यादव

काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य उपकरणको आयात प्रतिस्थापन गर्न मुलुकभित्रै गुणस्तरीय उत्पादन आवश्यक भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा फरच्युना हेल्थकेयर उद्योगको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् । उनले नेपाल स्वास्थ्य उपकरणको क्षेत्रका शतप्रतिशत अन्तर्राष्ट्रिय बजारमा निर्भर रहेको उल्लेख गरे । उनले सरकार र निजी क्षेत्र गरेर वार्षिक खर्बौँका स्वास्थ्य उपकरणहरू आयात हुने गरेको जानकारी दिए । स्वास्थ्यमन्त्री यादवले वार्षिक रुपमा आयात हुने खर्बौँको स्वास्थ्य उपकरण आयात प्रतिस्थापनको लागि मुलुक भित्रै उत्पादन गर्नुपर्नेमा जोड दिए ।

उनले अहिले मेडिसिन र फर्मा क्षेत्रमा मुलुकभित्रै ५० प्रतिशत माथि लगानी पुगेको भन्दै स्वास्थ्य उपकरण उत्पादनमा पनि लगानी आवश्यकता रहेको बताए । उनले ठूला स्वास्थ्य उपकरण उत्पादन गर्न नसकेको पनि सामान्य किसिमका स्वास्थ्य उपकरण उत्पादन र बजारको ठूलो सम्भावना रहेको दाबी गरे । उनले ठूलो सम्भावना हुँदाहुँदै पनि मुलुकभित्र लगानी हुन नसकेको भन्दै अब त्यसको लागि निजी क्षेत्र तयार हुन आवश्यक रहेको बताए ।

स्वास्थ्यमन्त्री यादवले आफ्नो उत्पादन नभएर सिरिन्जमा मुलुक विदेशीमा निर्भर भएको अवस्थामा फरच्युना सिरिन्ज उद्योगले राम्रो बजार पाउने विश्वास रहेको बताए । उनले नेपाली बजार र नेपाली उपभोक्ता, स्वास्थ्य संस्था र अस्पतालहरूमा फरच्युना सिरिन्जलाई पहिलो प्राथमिकता दिने बताए ।

उनले विदेशबाट ल्याउने स्वास्थ्य उपकरण कमसल हुँदा समेत विदेशी कम्पनीलाई राज्यले केही भन्न नसक्ने अवस्था रहेको बताए । उनले स्वास्थ्य उपकरणहरू सम्भव भएसम्म आफ्नै मुलुकमा उत्पादन राज्य र निजी क्षेत्र लाग्नु जरुरी देखिएको बताए ।

उनले भने नेपालमा स्वास्थ्य उपकरण उत्पादनमा लगानी गर्न सक्ने ठूलो सम्भावनाको क्षेत्र हो । तर मुलुक शतप्रतिशत अन्तर्राष्ट्रिय बजारमा निर्भर छौं । मेडिसिन र फर्मासिटिको क्षेत्रमा पनि ५० प्रतिशत लगानी भएको छ । छिमेकी मुलुकले ९० प्रतिशत माथि गरिसक्यो । बंलादेशले विश्व बजारमा पनि स्थान लिएको छ । उत्पादनमा गुणस्तर दिन सक्यो भने फर्मासिटिको क्षेत्रमा प्रशस्त सम्भावना छ । यस्तो सम्भावना भएको क्षेत्रमा लगानीको सुरुवात भएको छ । त्यो स्वागत योग्य छ ।’

उनले छिमेकी मुलुक बंलादेशले स्वास्थ्य मेडिसिनको क्षेत्रमा ९० प्रतिशत लगानी गरेर अन्तर्राष्ट्रिय बजारमा समेत पहुँच पुर्याएको बताए । उनले नेपालमा पनि लगानी बिस्तार गरी गुणस्तरीय वस्तु उत्पादन गरी विदेश निर्यात गर्न सक्ने सम्भावना रहेको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *