नेकपा एसले एमालेलाई दियो २ बजेसम्मको अल्टिमेटम

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा एमालेलाई सुदूरपश्चिमको मुख्यमन्त्रीमा समर्थन गर्न अल्टिमेटम दिएको छ ।

एकीकृत समाजवादीका दीर्घ सोडारीलाई एमालेले मुख्यमन्त्रीमा अस्वीकार गर्न खोजेपछि अल्टिमेटम दिएको हो । यति मात्रै होइन, समाजवादीले राजनीतिक कोर्स नै परिवर्तनको सङ्केत देखाएको छ ।

समाजवादीले एमालेलाई दिउँसो २ बजेसम्म निर्णय गर्न अल्टिमेटम दिएको छ । त्यसपछि पनि एमालेले निर्णय नगरेको अवस्थामा काँग्रेससहितको वैकल्पिक गठबन्धनको सहयोगमा सरकार निर्माण गर्ने योजनामा समाजवादी छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्णय नदिएपछि सुदूरपश्चिम एमाले अन्यौलमा छ । एमाले संसदीय दलका नेता राजेन्द्र रावलले केन्द्रीय नेताबाट निर्देशन नआएकाले कुनै निर्णय नलिएको बताए ।

एमालेले समाजवादीलाई सहयोग नगरेको अवस्थामा काँग्रेस, नागरिक उन्मुक्ति पार्टीसहितको वैकल्पिक गठबन्धनलाई पुनः ब्युँताउने योजनामा माधव नेपाल जुटेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र काँग्रेस सभापति शेरबहादुर देउवाबिचको छलफलमा प्रदेशमा मिलेर जाने विषयमा छलफल भएको थियो । सो छलफलको क्रममा देउवा सकारात्मक देखिएपछि एकीकृत समाजवादीले एमालेलाई अल्टिमेटम दिने अवस्थामा पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *