सुदूरमा सोडारीलाई मुख्यमन्त्री नमान्ने एमालेको अडान 

मुख्यमन्त्रीमा दाबी पेस गर्ने आज अन्तिम दिन

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समय सकिँदै छ । प्रदेश प्रमुख नाजिर मियाले आज साँझ ५ बजेसम्म दाबी पेस गर्ने समयसीमा दिएका थिए ।

केन्द्रीय सत्ता गठबन्धन फेरिएपछि कांग्रेस नेतृत्वको गठबन्धनबाट कमल बहादुर शाहले राजीनामा दिएपछि सुदूरपश्चिममा नयाँ सरकार गठनको गृहकार्य भइरहेको छ । यसअघि पेस गरिएका दुवै दाबी अस्वीकृत भएपछि प्रदेश प्रमुखले थप दुई दिनको समय दिएका थिए । सत्ता गठबनधनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने तयारी छ ।

एमालेको असहमति
सुदूरपश्चिममा मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भए पनि फेरि बखेडा सुरु भएको छ । समाजवादीले मुख्यमन्त्रीमा अघि सारेका सोडारीको नाममा एमालेले असन्तुष्टि जनाएपछि गठबन्धनबाट बुधबार मुख्यमन्त्रीमा दाबी पेस हुन सकेन ।

केन्द्रमा गठबन्धनका शीर्ष नेताबीच मंगलबार सुदूरपश्चिम सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो । सो सहमतिपछि संसदीय दलको बैठकले सोडारीलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने सर्वसम्मत निर्णय गरेको थियो । उनी बुधबार बिहान दाबी पेस गर्ने तयारीमा थिए । तर, सोडारीलाई मुख्यमन्त्री बनाउन एमाले नेताहरू सहमत नभएपछि दाबी परेन ।

मुख्यमन्त्रीमा दाबी पेस गर्न गठबन्धनका दलहरू दिनभर एमालेलाई पर्खेर बसेका थिए । तर, पार्टी केन्द्रबाट सोडारीलाई समर्थन नगर्न संकेत पाएपछि प्रदेशमा एमाले नेताहरू बुधबार गठबन्धनको छलफलमै गएनन् । पार्टी केन्द्रको निर्देशन नआएको भन्दै एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल सोडारीलाई मुख्यमन्त्री बनाउने सहमतिपत्र दिन तयार भएनन् ।

एमालेले नेकपा एसबाट सोडारीबाहेक अन्य जुनसुकै सांसदलाई अघि सार्दा स्वीकार गर्ने बताएको छ । सोडारी र एमाले नेताहरूबीच पार्टी विभाजनका क्रममा तिक्त सम्बन्ध थियो ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री नियुक्तिका लागि २७ सदस्यको समर्थन चाहिन्छ । कांग्रेसका १८ (एक जनाको निधन), माओवादी सभामुखसहित ११, एमाले उपसभामुखसहित १०, नागरिक उन्मुक्ति पार्टी ७ (५ जना रेशमतिर, २ जना रञ्जिता तिर), समाजवादी ४, राप्रपा १ र स्वतन्त्र १ गरी ५२ जना प्रदेश सभा सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *