आज चैते दसैँ मनाइँदै

काठमाडौं । आज चैत्र शुक्ल अष्टमी, अर्थात् चैते दसैँ । हिन्दु धर्मावलम्बीहरूले शक्तिपीठ देवीको पूजा आराधना गर्दै चैते दसैँ मनाउँदै छन् । यो चैते दसैँ पनि असोज(कार्तिकमा आउने मुख्य दसैँको एउटा प्रतिबिम्ब चाड हो ।

पुराना कथनहरूका अनुसार, पहिले(पहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो । तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली साथै दसैँको गरिष्ठ भोजन अनि हिँडडुलले धेरै जना बिरामी परेपछि दसैँलाई वर्षको मध्यमा सारिएको मान्यता छ । जे होस् जसो होस्, चैते दसैँको रौनक पनि कम छैन । चैते दसैँलाई कतिपय ठाउँमा सानो दसैँ भन्ने चलन पनि छ । भारत, बङ्गलादेश अनि म्यानमारमा चैते नवरात्रि भन्ने चलन पनि छ ।

वास्तवमा दसैँ भन्ने बित्तिकै दशमी भन्ने बुझिन्छ । तर फेरि नेपालमा दसैँको रौनक भने अष्टमीको दिन बली दिनेमा केन्द्रित रहन्छ । आजको दिन पनि तिथिका हिसाबले अष्टमी हो । दानवीय शक्तिमाथि दैवी शक्तिको विजय उत्सवका रूपमा मनाइने चैते दसैँमा पनि मुख्य दसैँमा झैँ विभिन्न शक्तिपीठहरुमा पशु बलि भोग दिने गरिन्छ ।

चैत शुक्ल अष्टमीका दिन के के गरिन्छ ?
चैत शुक्ल अष्टमीका दिन उपत्यकाभित्र गुह्येश्वरी, दक्षिणकाली, शोभा भगवती, रक्त काली, नक्साल भगवती, मैतीदेवी र सङ्कटामा बिहानैदेखि दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । तलेजु भवानी, हनुमान ढोका दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर लगायतका उपत्यकाका मन्दिरहरूमा आज बलि दिइन्छ र यस्ता बलि दिने कार्यक्रममा नेपाली सेनाको समेत सहभागिता रहन्छ ।

बलिका क्रियाकलापहरू पर्यटकहरूले सार्वजनिक रूपमा हेर्न पाउँछन् । पर्यटकीय रूपमा पनि आजको चाड उत्तिकै महत्पूर्ण छ । अर्कोतर्फ प्राचीन समयदेखि नै काठमाडौँ उपत्यकाका यी देवालयहरूमा बलि चढाउने क्रम निरन्तर चलिरहेको छ । उपत्यका बाहिर पनि भगवती मन्दिरहरू अनि शक्तिपीठहरुमा समेत दर्शनार्थीको घुइँचो हुने गर्छ । कतिपय भगवती मन्दिर क्षेत्रमा भने भव्य मेला लाग्ने गर्छ ।

रामचन्द्रको वनवास सकिएको दिन
आजकै दिन मर्यादा पुरुषोत्तम प्रभु श्री रामचन्द्र आफ्नो १४ वर्षे वनवास सकाएर अयोध्या फिर्नु भएको मानिन्छ । आफ्नी श्रीमती सीताको अस्मिता रक्षार्थ अनि पापी रावणको दुस्साहस र असुरमुखी व्यवहारबाट संसारलाई जोगाउन भगवान् श्री रामले रावणको वध गर्नुभएको थियो ।

यसरी रावणको वध गर्न देवी दुर्गाले रामलाई मद्दत गर्नुभएको थियो । आज राम अनि दुर्गा लगायत अन्य धेरै देवी-देवताको पूजा गरिन्छ । यी सम्पूर्ण कुराहरू उहाँको १४ वर्षे वनवासभित्रै भएको थियो । आज अर्थात् चैते दसैँका दिन उहाँको सकुशल आगमन भएकोमा अयोध्यावासी लगायत सबैले असत्यमाथि सत्यको जितको रूपमा चैते दसैँ मनाएका हुन् भन्ने सामाजिक मान्यता छ ।

मुख्य दसैँमा झैँ चैते दसैँमा पनि दुर्गा पूजा गरी मिष्टान्न भोजन चढाइन्छ । देवी मन्दिरहरूमा देवी भागवत पाठ पारायण तथा कालिका पुराणका देविस्त्रोतहरु पाठ गरिन्छ । घरमा उपलब्ध खाद्यान्न परिकारहरूलाई बनाई तुल्याई खाई रमाइलो गरी चैते दसैँ मनाइन्छ । आज अशोकको फूल खाने गरिन्छ । फुल खाँदा रोगब्याधी नष्ट हुने आम विश्वास छ ।

छोरी चेली लगायत दिदी–बहिनी अनि कर कुटुम्भहरुलाई बोलाएर खुवाउने चलन छ । माशांहारीरुले माछा-मासु खाने चलन छ । यसका लागि बलि दिइन्छ भने साहाकारीहरूले भने घिरौँला, भाण्टा, कुभिन्डो या अन्य फलफूललाई खुट्टाको टेको लगाएर बलि दिने चलन छ । –हाम्रो पात्तोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *