रविलाई गगनको आग्रह– सबै काम जादुगर झैँ सक्छु भन्ने भ्रमबाट मुक्त हुनुस्

काँग्रेसले २०८१ सालमा बालुवाटार र सिंहदरबारतिर हेर्नु पनि हुँदैन

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसले एक वर्ष बालुवाटार र सिंहदरबारतिर फर्किएर हेर्न नहुने बताएका छन् ।

सोमवार कैलालीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले काँग्रेसले २०८१ सालमा बालुवाटार र सिंहदरबार नहेरीकन जनताको काममा ध्यान दिनुपर्ने बताए ।

उनले ०८१ सालमा सरकार बनाउने खेलमा काँग्रेस लाग्नु नहुने बताए । उनले एक वर्ष नेकपा एमालेसहित नेकपा (माओवादी केन्द्र) र अन्य नयाँ राजनीतिक दलहरुलाई सत्ता सञ्चालन गर्न दिनुपर्ने बताए ।

‘२०८१ साल एक वर्ष नेपाली काँग्रेसले बालुवाटारतिर हेर्दै नहेरोस् । बालुवाटार आयो की आँखा चिम्म गरेर अघि गइहाल्यौँ’उनले भने,‘महाराजगञ्जतिर गइहाल्ने । हेर्दै नहेर्ने । सिंहदरबारतिर पनि हेर्दै नहेर्ने । एक वर्ष ०८१ माओवादी, एमाले साथीहरु मिलेर सरकार चलाउन दिनुस् । चलाउनुस् ।’

उनले सरकारमा नयाँ आएकाहरुले काँग्रेसले सरकार छोड्यो अब चमत्कार हुन्छ भन्ने जस्ता भ्रम छरिरहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै आफू नेता हुनासाथ, प्रधानमन्त्री र मन्त्री हुनासाथ सबै काम जादुगर झैँ सक्छु भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताए ।

‘अहिले नयाँ आएका सरकारका साथीहरुले जताततै अब चमत्कार हुन्छ, अस्तिसम्म काँग्रेस भएकाले नभएको हो, अब काँग्रेस गयो, राम्रो हुन थाल्यो भन्ने छ । त्यो बेकारको कुरा हो । हामी हावादारी कुरा गरिरहेका छौँ नि’उनले भने,‘म नेता, प्रधानमन्त्री हुनासाथै, म आउनासाथै म जादुगर हो, मैले अब जादु गर्छु । अब म कतार, मलेसिया, सबैको स्टिकर टाँसेर नेपाल ल्याउँछु भनेर अर्को फेरि आयो । हामी देको देइ गर्न थाल्यौँ क्या ।

उनले सहकारीले ठगेको रकम फिर्ता गरेर पीडितमाथि न्याय दिनुपर्ने जिम्मेवारी रहेको बताए । महामन्त्री थापाले नागरिकहरुको न्यायको लागि काँग्रेसले आवाज उठाउने बताए ।

‘केही मानिसहरुले सहकारीको रकमको यति दुरुपयोग गर्ने अवस्था बन्यो । जसको कारणले हजारौँ मानिसहरु सडकमा आइपुगेका छन् । ति मानिसहरुलाई न्याय गर्नुपर्नेछ, फिर्ता गर्नुपर्नेछ’ उनले भने, ‘न्यायको आवाज हामी बन्नुपर्छ । काँग्रेस, एमाले, माओवादी भन्दिनँ । हामी दुई महिना अघिसम्म सरकारमा थियौँ, सकेनौँ नि त ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *