सहकारी पीडित भन्छन्ः ‘रकम नपाउँदा परिवारसँगको सम्बन्ध बिग्रियो’

काठमाडौँ । सहकारी पीडितहरूले सहकारीमा जम्मा गरेको रकम नपाउँदा परिवारसँगको सम्बन्ध बिग्रिएको बताएका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमवार काठमाडौँमा गरेको पत्रकार सम्मेलनका क्रममा सहकारी बचतकर्ताहरूले दुःखेसो पोखेका हुन् ।

उनीहरूले आफ्ना नातेदार र परिवारका सदस्यहरूले विदेशमा गई पठाएको पैसा सहकारीमा राखेको तर सहकारीबाट अहिले रकम निकाल्न नपाएपछि पारिवारिक कलह शुरु हुन थालेको बताए ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै एक सहकारी पीडितले विदेशबाट आफ्ना भाईले पठाएको रकम सहकारीमा जग्गा गरेको तर अहिले आफूले निकाल्न नपाएको बताइन् । उनले भाईले अहिले पैसा बारम्बार मागिरहेको र पैसा दिन नसक्दा भाइ नै रिसाएर बोल्न छोडेको बताइन् ।

उनले आफूले सहकारीमा दुःख गरेर जम्मा गरेको पैसा पाउँ भनेर सिंहदरबारसम्म धाउँदा पनि सरकारले बेवास्ता गरेको आरोप लगाइन् ।

उनले भनिन्– ‘विदेशबाट भाईले पठाएको पाँच लाख रुपैयाँ सहकारीमा जम्मा गरेको थिएँ । अहिले भाईले पैसा मागेको छ । तर मसँग दिने पैसा छैन, भाई मसँग रिसाएको छ । बोलचाल छैन । सिंहदरबारसम्म पुगेँ, गुनासो लिएर तर म एक्लैको कुरा केही सुनेन । पुलिसले पनि सुनेन । हामी अरूको भाँडा माझेर खाने मान्छेको एक रुपैयाँ गरेर जम्मा गरेको पैसा मैले पाइनँ । सरकारले गरिब जनताको आवाज सुनेन । हामी गरिब दुःखीको सुनुवाई कहिले हुन्छ ?’

उनीहरूले आफूले दुःख गरेर जम्मा गरेको रकम खाएर हिँड्ने छुट कसैलाई नरहेको भन्दै सरकारले तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

उनीहरूले सरकारले गरिब जनताको दुःख नसुनेको आरोप लगाए । गरिब दुःखीको सुनुवाई कहिले हुन्छ ? भन्ने उनीहरूको प्रश्न थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *