राष्ट्रिय शक्तिबीच एकता आवश्यक : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई सुशासन र समृद्धिको बाटोतर्फ लैजान राष्ट्रिय शक्तिबीच एकता आवश्यक रहेको बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा आज भएको सो पार्टीको संसदीय दलको बैठकमा उनले राष्ट्रिय शक्ति मिलेर मुलुकलाई सुशासन र समृद्धिको बाटोतर्फ अगाडि लैजानुपर्नेमा जोड दिए । उनले उपयुक्त समयमा वामपन्थी एकता हुने तर पार्टीलाई हानी पुर्‍याउनेहरुसँग भने एकता नहुने स्पष्ट पारे ।

अध्यक्ष ओलीले अहिले आफूले वामपन्थी शक्तिहरूलाई जुटाउने मात्र काम गरेको तर केही स्वार्थी तत्त्वले सधैँ आन्दोलनलाई कमजोर बनाउने काम गरेको बताए ।

समितिमा पार्टीको भूमिका प्रभावकारी

अध्यक्ष ओलीले संसदीय समितिमा पार्टीको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए । ‘संसदमा हाम्रो सहभागिता सक्रिय र प्रभावकारी हुनुपर्दछ । गलत निर्णय संसदबाट हुनुहुँदैन । भोलिका दिनमा संसदको इतिहास हेर्दा पनि संसदले यस्तो गरेछ भन्ने नहोस्’, उनले भने ।

अध्यक्ष ओलीले समितिमा कुनै विषयमा कहिलेकाहीँ स्वार्थ समूहले प्रभावित गर्ने भएकाले त्यस्ता स्वार्थ समूहका हित हावी भएर राष्ट्रिय हित कमजोर बनाउन नहुने धारणा समेत राखे । उनले सही दिशामा राजनीतिक फर्कँदै गरेको अवस्थामा सुदूरपश्चिम प्रदेशमा देखिएको विवादले केही प्रभाव नपार्ने बताए ।

उनले समृद्ध नेपाल र सुखी नेपाली लक्ष्य पूरा गर्न समाजवाद आवश्यक रहेको बताए । ‘राजनीतिक धेरै बिग्रेपछि जनतामा असन्तुष्टि र अन्योल बढ्छ’, उनले भने ।

उनले एमालेका लागि शक्तिको खेलमा लाग्नुभन्दा मुलुकको राष्ट्रिय हितमा काम गर्नु अहिलेको आवश्यकता भएको बताए । ‘अहिले एमालेले कतिपयले यो वा त्यो मन्त्रालय लिएन भनेर हल्ला चलाएका छन् । सबै मन्त्रालय उत्तिकै महत्त्वपूर्ण छन्’, उनले भने, ‘हाम्रा लागि मन्त्रालय वा पद ठूलो कुरा होइन । मुलुक विकासका लागि नयाँ गठबन्धन जरुरी हो ।’

अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनु अहिलेको प्रमुख उद्देश्य भएको भन्दै सोहीअनुसार पार्टीलाई अगाडि बढाउने बताए ।

उनले पार्टीका सांसदलाई धेरै विदेश भ्रमण नगर्न सुझाव दिँदै सांसदलाई गल्ती र ठगीबाट जोगिने आग्रह गरे । उनले आगामी आर्थिक वर्षको बजेटका लागि आवश्यक सुझाव पेस गर्न पनि सांसदहरूलाई निर्देशन दिए ।

अध्यक्ष ओलीले सांसदको काम कानून निर्माण रहेको भन्दै सांसदलाई जथाभावी प्रस्तुत नहुन र पूरा हुन नसक्ने खालका विकास निर्माणका काममा प्रतिबद्धता नजनाउन पनि सुझाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *